सभापति देउवाले मागे राप्रपा अध्यक्ष लिङ्देनसँग गण्डकी सरकारलाई समर्थन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग गण्डकी प्रदेश सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।

शुक्रबार देउवाले लिङ्देनलाई पत्र पठाइ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारलाई बहुमत पु¥याउन सहयोगका लागि आग्रह गरेका हुन् ।

सभापति देउवाले पत्रमा भनेका छन्, ‘गण्डकी प्रदेश सरकार गठनका सन्दर्भमा सर्वोच्च अदालतले संविधानको धारा १६८÷३ बमोजिम सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको विशिष्ट परिस्थितिमा पाण्डे नेतृत्वमा सरकार गठन भएको यहाँलाई विदितै छ ।’

‘प्रदेशको नीति कार्यक्रम र बजेट निर्माणको संवेदनशील समय भएकाले जेठ २८ गते विश्वासको मत लिन लाग्नुभएको यस विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वासको मत प्रदान गरी सहयोग गर्न अनुरोधसहित कांग्रेसको तर्फबाट तपाईंलाई यो पत्र पठाएको छु’, सभापति देउवाले राप्रपा अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा भनिएको छ ।

‘यो विश्वासको मतले गण्डकी प्रदेश सरकारमा देखिएको अस्थिरता अन्त्य गर्न मात्र नभइ दलहरूबीच नयाँ विश्वास र सहकार्यको वातावरण बन्नेमा कांग्रेस विश्वस्त छ’, देउवाले भने ।

गण्डकीमा एमाले र माओवादी केन्द्रले कीर्ते गरेर सरकार बनाएका थिए । एमालेका नेता खगराज अधिकारी नेतृत्वको कीर्ते सरकारलाई सर्वोच्च अदालत खारेज गरिदिएको थियो । त्यसपछि सर्वोच्च अदालतले परमादेश दिएर ४८ घण्टाभित्र कांग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । गण्डकी प्रदेशसभामा ६० सदस्यीय छ । गण्डकीमा कांग्रेससँग २७ प्रदेशसभा सदस्य छन् । पाण्डेलाई विश्वासको मत लिन थप ४ सदस्य आवश्यक पर्छ ।

पाण्डेको सरकार बचाउन गण्डकीमा राप्रपाका दुई, स्वतन्त्रका दीपक मनाङे र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले मत दिनुपर्छ ।

स्वतन्त्र सदस्य मनाङेले ३० जना सांसद पुर्‍याए आफूले ३१ पुर्‍याइदिने मुख्यमन्त्री पाण्डेलाई आश्वासन दिएका छन् ।

Published : Friday, 2024 June 7, 11:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया