भारतद्वारा नवलपरासी (पूर्व)मा विद्यालयको सुविधा सम्पन्न भवन निर्माण

काठमाडौं । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको कूल नेरु. २.७५१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको भवनको उद्घाटन गरेर हस्तान्तरण गरिएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका डा.शशांक कोइरालाले उद्घान गरेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भवनको जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम)का प्रमुख भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमारले पनि संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

नेपाल–भारत विकास सहकार्यअन्तर्गतको भारत सरकारको अनुदान सहयोग श्री त्रिभुवन माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै कक्षाकोठा, परीक्षा, प्रधानाध्यापक, कर्मचारी र प्रशासनका लागि कोठा, जीव विज्ञान, वनस्पति विज्ञान, भौतिक विज्ञान र रसायन विज्ञानका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, छात्र र छात्राका लागि छुट्टै शौचालयसहितको विद्यालय भवनको निर्माण गरिएको छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत परियोजनालाई उच्चप्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो ।

परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम)मार्फत गरिएको थियो ।

सांसद डा. कोइरालाका साथै जिल्ला समन्वय समिति, नवलपरासीका प्रमुख, बुलिङटार गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले गर्दै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् ।

श्री त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्चप्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ ।

भारतले ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये नवलपरासी (पूर्व) जिल्लाका ३ वटा परियोजनासहित गण्डकी प्रदेशमा ५९ वटा परियोजना रहेका छन् ।

भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

नवलपरासी (पूर्व) जिल्लालाई प्रदान गरिएको ९ वटा एम्बुलेन्स र १० वटा स्कुल बससहित गण्डकी प्रदेशलाई ११९ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिकालागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2024 June 7, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया