गृहमन्त्री लामिछाने सहकारी ठगी काण्डमा मुछिएका बेला प्रचण्डनै सहकारीपीडित भएको खुलासा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पनि सहकारीपीडित भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा सहकारी केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा दाहालले माओवादीकै नेता कार्यकर्ताबाट सहकारी खोल्दा आफू सताइएको बताए । उनले सहकारी खोलेर बसेका आफ्नै नेता कार्यकर्ताले दुःख दिने गरेको बताए ।

अहिलेको संरचनाले समस्या समाधान गर्न नसकिने बताउँदै उनले सहकारी प्राधिकरण स्थापना गरिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले सहकारी सम्बन्धी बोर्ड र विभागलाई एकीकृत गरेर प्राधिकरण गठन प्रक्रिया छिट्टै शुरु गरिने बताएका छन् ।

सहकारीको सिद्धान्त विपरित पूँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई शोषण गर्ने माध्याम बनाउँदा अहिलेको अवस्था आएको पनि प्रधानमन्त्री दाहालले बताए ।

उनले जुन ढंगले चलाइयो, त्यसबाट विकृति जन्मिने नै थियो र अहिले त्यो विकृति देखा परेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले पुँजीवादी विकृतिले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा अघि बढ्न नदिएको बताएका छन् ।

सहकारीबाट हजारौँ सर्वसाधारण ठगिएर पीडित बनेको तथा गृहमन्त्री लामिछाने नै सहकारीको रकम अपचलन र ठगी काण्डमा मुछिएर संसदीय छानविन समितिको दायरमा परेका बेला प्रधानमन्त्री दाहालले नै आफू पनि सहकारीपीडित भएको बताएका छन् ।

Published : Friday, 2024 June 7, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया