राम्रो काम गर्ने सञ्चारमाध्यमलाई पुरस्कार, अटेर गर्नेलाई कालोसूची : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक हुने भएकाले त्यस्ता सञ्चारमाध्यमलाई कालोसूचीमा लैजाने चेतावनी दिएका छन् ।
अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएको भन्दै अध्यक्ष बस्नेतले त्यस्ता सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको बताए ।
नयाँ खुलेका अनलाइन सञ्चार माध्यमका सम्पादक, सञ्चालकलाई बिहीबार काउन्सिलमा बोलाएर पत्रकार आचारसंहिताको विषयमा अभिमुखीकरण राखिएको थियो । अध्यक्ष बस्नेतले राम्रो काम गर्नेलाई पुरस्कार र अटेर गर्नेलाई कडा कारबाही थालिएको उनले बताए ।
‘समाचारमाध्यमका नाममा अपुष्ट सामग्री दिने, असन्तुलित र पूर्वाग्रहपूर्ण सामग्री पस्किने काम भइरहेका छन्’, उनले भने, ‘गालीगलौज, अश्लील र बनावटी सामग्री पनि पाइएका छन् । त्यस्ता कुनै पनि माध्यमलाई काउन्सिलले अब कालोसूचीमा राख्दैछु ।’
नयाँ खुलेका अनलाइन दिगो र बलियो बनाउन विश्वसनीय र परिपक्व पत्रकारिता हुनुपर्ने उनले बताएका छन् । नयाँ अनलाइन सञ्चालन गर्नुअघि काउन्सिलले नियमित अभिमुखीकरण गर्दै आएको छ ।
‘भ्युअर्स’को लोभमा लागेर गलत समाचार लेख्दा देशलाई नै आघात पुग्नेतर्फ उनले सबैको ध्यानाकर्षण गराएका छन् ।
काउन्सिलका सदस्य दुर्गा भण्डारीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाबारे जानकारी दिएका छन् । उनले अपाङ्गतामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३, महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका – २०७८ मा भएका प्रावधानबारे प्रशिक्षण दिएका छन् ।
अनलाइनखबर डटकमका सम्पादक बसन्त बस्नेतले विषयगत प्रस्तुति राख्दै प्रविधिको फड्कोले सबैलाई मूलप्रवाहमा ल्याउने अवसर दिएको बताए । उनले अनलाइन पत्रकारितामा विश्वसनीयताको खडेरी देखिएको, मेहनत र खोजीपना कम हुँदै गएको बताए ।
‘काउन्सिलले जारी गरेका आचारसंहिता, पत्रकारिताका आधारभूत पक्ष नभुली कार्यक्षेत्रमा उत्रिए यो पेशामा सम्भावना अझै छ’, सम्पादक बस्नेतले भने । बस्नेतले सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावको विषयमा समाचार लेख्दा विशेष ख्याल गर्नुपर्ने बताए ।
विभिन्न ४५ वटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गरेका थिए ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया