भारतद्वारा सुनसरीमा दुई वटा विद्यालय भवन निर्माण

काठमाडौं । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको कूल नेरु. २.६३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको भवनको उद्घाटन भएको छ ।

बुधबार जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल नेरु. ३.०५ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीकै इनरुवा नगरपालिकास्थित श्री भगवती माध्यमिक विद्यालयको भवनको पनि उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख मेहता, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी र राजदूतावासका प्रथम सचिव शेखरले संयुक्त रुपमा गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग रामधुनी नगरपालिकास्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको छ ।

त्यसै गरी भारत सरकारको अनुदान सहयोग इनरुवा नगरपालिकास्थित श्री भगवती माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको छ ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी परियोजनालाई उच्चप्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, सुनसरीमार्फत यी परियोजनाको कार्यान्वयन गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख, रामधुनी नगरपालिकाका मेयर, इनरुवा नगरपालिकाका मेयर र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् ।

सुनसरीस्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालय र श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नवनिर्मित विद्यालय भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्‍याउनेछ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्चप्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । ४९० वटा परियोजना सम्पन्न भइसकेका छन् ।

यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् । जसमा १२ वटा परियोजना सुनसरीमा छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

जसमध्ये कोशी प्रदेशलाई १४६ वटा एम्बुलेन्स र ४८ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको छ । यसमा २४ वटा एम्बुलेन्स र ११ वटा स्कुल बस सुनसरी जिल्लालाई उपलब्ध गराइएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।

यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

Published : Wednesday, 2024 June 5, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया