मर्चवार क्षेत्रलाई लुम्बिनी सरकारले उपेक्षा गरेको कांग्रेस प्रदेशसभा सदस्य खाँको टिप्पणी

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सदस्य वसिउद्धिन खाँले रुपन्देहीको मर्चवार क्षेत्रलाई लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रममा उपेक्षा गरिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री जोखबहादुर महराद्वारा पेश गरिएको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य खाँले भगवान गौतम बुद्धसँग सम्बन्धित रहेको ‘देवार भी’लाई समेत उपेक्षा भएको भन्दै चिन्ता जनाए । लुम्बिनी सरकारको गलत नीतिले कुखुरा र मत्स्यपालन व्यवसायीहरू पलायन हुने अवस्थामा रहेको भन्दै व्यवसायीहरूको संरक्षणका लागि उचित व्यवस्था गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘किसानको हातमा केही पनि छैन । मल, बीउविजन, सिचाइँ, बजार केही पनि छैन । नारामा यो सीमित नराहोस् । व्यवहारमा लागू होस् । खाद्यान्न बाहिरबाट अर्बौंको आयात हुन्छ । कुखुरा र मत्स्यपालन व्यवसाय भनेका छौँ । यो व्यवसायलाई उद्योग मानेको छ । न्यूनतम मूल्य पनि तोकिएको छैन । माछा र कुखुराका व्यवसायी पलायनको अवस्थामा छन् ।’

‘लुम्बिनीलाई केन्द्रमा राखेर लुम्बिनीका वरिपरि रहेका विभिन्न पर्यटकीय स्थलहरूको प्रबर्द्धन गर्ने भनेको छ । मर्चवार क्षेत्रलाई छुटाइएको छ’, प्रदेश सभा सदस्य खाँले भने ।

‘मर्चवारको मछुवारी गाउँपालिकामा भगवान गौतम बुद्धसँग सम्बन्धित ‘देवार भी’ भन्ने स्थान छ । त्यसलाई पनि छुटाइएको छ । त्यसलाई पनि समावेश गर्नुपर्छ’, खाँले भने ।

उनले भने, ‘रुपन्देहीको मर्चवारी देवीलाई सम्बोधन गरिएको छैन । नीति कार्यक्रममा सच्याएर मर्चवारी देवीलाई पनि स्थान दिनुपर्छ ।’

‘हामीले भन्छौँ गएको प्रदेश सरकार बजेट खर्चमा चुक्यौँ भन्छौँ । त्यसको कारण के हो त ? त्यसको प्रमुख कारण हाम्रो दोहोरो चरित्र हो’, उनले भने ।

उनले भने, ‘हामीले विभिन्न मन्त्रालयबाट गएका फाइलहरू योजना आयोगले प्रस्तुत गरेका तत् मन्त्रालयले प्रस्तुत गरेका त्यो कहाँ गएर अड्किएको छभने आर्थिक मामिला मन्त्रालमा गएर थन्किएको अवस्था छ । करीव सात अर्बको रहेछ ।’

‘हाम्रो बजेटको ठूलो भाग । हाम्रो खर्च गर्ने हैसियत कति छ अहिले ? लगभग ४० प्रतिशतको हाराहारीमा छ’, उनले भने, ‘अर्को बजेट बनाउन गइरहेका छौँ । आगामी बजेटमा खर्च हुने आधार के छ त ? प्रदेश सरकारले खर्च कसरी गर्छु ? सरकारको धारणा जान्न चाहन्छु ।’

उनले भने, ‘रकमान्तर नगरिदिने । आवश्यक ठाउँमा बहुबर्षीय योजना स्वीकृति नगरिदिने, यसको जिम्मेवार को हो ? यसको जिम्मेवार प्रदेश सरकार हो ।’

‘विगतको सरकारले केही दिन पहिला मर्चवार क्षेत्रमा दुर्घटना भयो । विगतको क्याबिनेटले एउटा निर्णय के गर्‍यो भने औषधि उपचार प्रदेश सरकारले दिनेछ । त्यो निर्णय यो सरकारले किन कार्यान्वयन गरिरहेको छैन ? जनतालाई जवाफ चाहिन्छ । हामीले जनतालाई जवाफ दिनुपर्छ’, उनले भने ।

प्रदेश सभा सदस्य खाँले भने, ‘मर्चवार क्षेत्र भनेको रुपन्देहीको अन्न भण्डार हो । मर्चवार क्षेत्रलाई सिचाइँको योजनामा राख्न अनुरोध गर्छु । त्यहाँका कर्मचारीलाई रकम निकासाको माग गर्छु ।’

कांग्रेसका प्रदेश सभा सदस्य खाँले मर्चवार क्षेत्रका लागि लुम्बिनी प्रदेश सरकारले नयाँ बजेटमार्फत एउटा दमकलको व्यवस्था गरिदन पनि माग गरेका छन् ।

Published : Wednesday, 2024 June 5, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया