समर्थकहरूको निकै दवावमा खेलेको नेपाली टिम, ट्वान्टी-२० हारको सामना

डालास । नेदरल्याण्डसँग नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा हारको सामना गर्नु परेको छ ।

नेपाली समयअनुसार मंगलबार डालासस्थित ग्रान्ड प्रेरी रंगशालामा म्याक्स ओ’डडको अर्धशतकमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको छ ।

डच टोलीले १ सय ७ रनको लक्ष्य ८ बलअगाडि १ सय ९ रन बनाएर पूरा गरेको थियो । ३० वर्षीय ओ’डडले अविजित ५४ रन बनाए । उनले ४८ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

सोमपाल कामीको बलमा कप्तान रोहित पौडेलले ४१ रनमा ओ’डडको क्याच छाड्दा नेपालको झिनो आस पनि समाप्त भएको थियो । बास डेल लिड ११ रन बनाई अविजित रहे । उनले अविनाश बोहराको बलमा विजयी चौका प्रहार गरे ।

यसअघि सोमपालले दोस्रो ओभरमै माइकल लेभिटलाई १ रनमा आउट गरेर नेदरल्यान्ड्सलाई झट्का दिएका थिए । ठूलो लक्ष्य नभएका कारण आरामदायी हिसाबमा खेलेको नेदरल्यान्ड्सबाट ओ’डड र विक्रमजित सिंहले दोस्रो विकेटमा ४० रनको साझेदारी गरे । सिंहले २८ बल खेल्दै ४ चौकासहित २२ रन बनाए ।

साइब्रान्ड इंगलब्रेक्टले १६ बलमा १ चौकासहित १४ रन बनाए । उनलाई सोमपालले फ्लो थ्रुमा रनआउट गरे । अविनाश बोहराले डच कप्तान स्कट इडवार्ड्सलाई ५ रनमा बोल्ड गरे । सोमपालले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा २० रन मात्र खर्चेर कुनै विकेट लिन सकेनन् । अविनाशले ३.४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।

यसअघि रोहितले टिकेर खेले पनि टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाल १९.२ ओभरमा १ सय ६ रनमा अलआउट भयो । रोहितले ३७ बलमा ३५ रन बनाए । चौथो ओभरमा ब्याटिङमा आएर १६ औं ओभरमा आउट हुनुपूर्व रोहितले ५ चौका प्रहार गरेका थिए । तल्लो क्रममा करण केसीले २ छक्कासहित १२ बलमा १७ रन बनाए । गुलशन झाले १५ बलमा १ चौकासहित १४ रन बनाए । अविनाश बोहरा पहिलो बलमै आउट भए ।

नेपालको सुरुआत राम्रो हुन सकेन । आसिफ शेख ८ बलमा ४ रन बनाई आउट भए । भीभीएन किङ्मासँग नयाँ बल लिएर आएका देब्रेहाते स्पिनर टिम प्रिङ्गलले आफ्नो पहिलो ओभरमै आसिफलाई आउट एजमा सर्टमा रहेका किङ्माबाट क्याच गराए ।

कुशल भुर्तेलको खराब फर्म जारी नै रह्यो । १० बलमा ७ रन बनाएका उनलाई पहिलो परिवर्तनका रूपमा आएका लोगन भान बिकले एलबीडब्लू आउट गरे । नेदरल्यान्ड्सका बलरविरुद्ध अनिल साह र रोहितको प्रतिरोध केही समय मात्र रह्यो । अनिल १२ बल खेल्दै २ चौका प्रहार गरी ११ रन बनाई प्रिङ्गलकै बलमा आउट भए ।

कुशल मल्ल ९, दीपेन्द्रसिंह १, सोमपाल शून्यमा आउट भए । प्रिङ्गलले ४ ओभरमा २० रन मात्र खर्चेर ३ विकेट लिए । उनले १३ डट बल फालेका थिए । पाउल भान मिकेरेनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुनै विकेट नलिए पनि किङ्माले ४ ओभरमा २३ रन खर्चेका थिए ।

उनले १५ डट बल फालेका थिए । वर्षाले भिजेका कारण खेल आधा घण्टा ढिला सुरु भएको थियो । डालासमा बिहानैदेखि वर्षा भएको थियो । ९ बजे वर्षा रोकिए पनि मैदान भिजेका कारण समयमा टस हुन सकेको थिएन ।

Published : Wednesday, 2024 June 5, 10:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया