गठबन्धनको बजेटले १ घण्टा ४५ मिनट संघीय सांसद र देशको समय बर्बादी भयो : कांग्रेस सांसद बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतजङ्ग बस्नेतले गठबन्धन सरकारको बजेटप्रति आलोचना गर्दै संघीय सांसद र जनताको १ घण्टा ४५ मिनटको समय खाइदिएको बताएका छन् ।

मंगलबार बसेको राष्ट्रियसभामा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद बस्नेतले भने, ‘संघीयतापछि १ घण्टा ४५ मिनटको प्रस्तुतीकरण गर्न सक्नु पनि म चाहिँ ऐतिहाँसिक उपलब्धि पनि ठान्दछु ।’

‘बजेट अध्ययन गरिसकेपछि यो बजेट पनि नयाँ कागजको पुरानै नीति र कार्यक्रमहरू आएका छन्’, उनले भने, ‘यस्तो कार्यक्रमको निरन्तर भाग्य बोकेको देखिन्छ । १ घण्टा ४५ मिनट संघीय सांसद र देशको समय बर्बादी भएको महशुस मलाई हुन गएको छ ।’

उनले भने, ‘लोकतन्त्र ल्याउने सघाउने जनता र सरकारप्रति नजनता चासो राख्न थालेका छन्, नसंसदप्रति चासो छ, नबजेटप्रति नै चासो छ । जताततै निरासा निरासै छ । यो निरासा छाउनु प्रजातन्त्रको स्थिरता विकास र प्रभावकारिताको लागि राम्रो संकेत पनि होइन ।’

‘यसको पछाडिको कारण बुझ्दा गणतन्त्रको समस्या समाधान गर्ने बजेट बन्नुको साटो अर्थतन्त्रको समस्या बढाउने, राजनीतिक बजेट आउने गरेको छ’, सांसद बस्नेतले भने ।

‘बृहत अर्थतन्त्रको व्यवस्थापन गरेर राहत दिनेभन्दा ऋण र करको बोझले झनझन देश र जनतालाई खोक्रो मनोबल दिलाउने, देशबाट भाग्नुपर्ने, अर्काको देशमा बहादुर र दास बनाउने बजेट आउने गरेको ऋणलाई लिएर घिउ खाने सपनाको शब्दजालमा फसाएर नेता र व्यापारीलाई पोस्ने, जनतालाई स्रोत नभएका कार्यक्रमको ठेङ्गा देखाएर असफल गराउने बजेट र उत्पादनविनाको समाजवाद र स्रोतविनाको कार्यक्रमहरू सपनामयले गरेर यो बजेट भाग्य पनि उहि त हो नी भन्ने भाव पाइन्छ’, कांग्रेसका सांसद बस्नेतले भने ।

‘यो सन्दर्भमा बजेट हेर्दा महत्वकांक्षी, सपना बाँड्ने, वितरणमुखी, ऋणमुखी र कर्मकाण्डी नै देखिन्छ’, उनले भने ।

Published : Tuesday, 2024 June 4, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया