लामिछानेले हुकुमी शासन चलाएको भन्दै सभापति खतिवडाद्वारा विरोध, स्वयंसेवकवाला फण्डा खारेज गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले संविधान र कानून विपरित हुकुमी शासन चलाउन खोजेको भन्दै विधि र पद्धतिमा रहेर राज्य चलाउन सुझाव दिएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खतिवडाले भने, ‘यो संविधान हुकुमी शासनमा चल्ने पद्धतिको होइन । कानूनी राज्यअनुसार देश चल्नुपर्छ भन्ने अबधारणा हामीले संविधान निर्माण गरेका हौँ ।’

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भने, ‘गणतन्त्र स्थापना भएको १७औँ वर्षमा माननीय उपप्रधानमन्त्रीको एउटा ट्वीट मैले पढें । ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीहरूलाई ४ दिन पिरियडको समयमा विदा दिने कामको सुरुवात गर्नुभए छ । कानून बनाएर गर्दा यसलाई असाध्यै राम्रो । हामी स्वागत गर्न चाहन्छौँ र राम्रो कामलाई धन्यावाद पनि दिन चाहन्छौँ ।’

‘तर, मुलुक हुकुमी शासनमा चल्ने होइन । कानून अनुसार चल्नुपर्छ’, खतिवडाले भने, ‘कुनै पनि काम गर्दा कानून निर्माण गरेर कानूनी राज्यअनुसार चल्नुपर्छ भन्ने हाम्रो अबधारणा हो ।’

सभापति खतिवडाले भने, ‘मापसे (मादक पदार्थ सेवन) गरेका मान्छेहरूलाई बिहान सडकमा ल्याएर उभ्याउने रे ! यो कुन कानूनमा र कुन नियममा छ ? गृह मन्त्रालयले त्यो नियमावलीअनुसार प्रहरीलाई पठाएको छ कि ? गृह मन्त्रालयलाई पत्राचार भएको छ कि ? यसरी मुलुक चलाउने शासन पद्धतिको अन्त्य गर्न लडेका मान्छेले फेरि हुकुमी शासन चलाउने पद्धतिको हामीविरुद्धमा छौँ ।’

‘त्यसैले कसैको पनि श्रम शोषण गर्न पाइँदैन । कानूनअनुसार मुलुकलाई अगाडि बढाउनु पर्दछ’, उनले भने ।

सांसद खतिवडाले भने, ‘कुनै मान्छेहरू श्रमदान दिन विद्यार्थी कहिले काहिँ सडकमा पठाइएको हुन्छ । कहिँ विदेशीहरू आएर हामीले देखेका छौँ, ट्राफिकको काम गरेका । तर, मापसेमा लरबर हुँदै ट्राफिकको काम गर्ने पहेँलो ज्याकेट लगाउने मान्छेहरू सबै मापसेयुक्त हुने भान प्राप्त भयो भने मुलुक कतातिर जान्छ ? तिनीहरूको इज्जत सडकमा रहन्छ, रहँदैन ? त्यसैले यो काम तुरुन्त बन्द गरेर कानूनअनुसार शासन चलाउने व्यवस्थाको सुरुवात होस् भन्ने कुराको माग गर्न चाहन्छु ।’

‘सरकारको यस्तो कुराको म सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । सानातिना कुरामा मिडियाका भरमा, मिडिया ट्रायल गरेर मन्त्रालय चलाउने होइन’, उनले भने ।

‘मन्त्रालय कानूनअनुसार चलाउनु प¥यो र कसैको शोषण गर्न पाइँदैन’, उनले भने, ‘अहिले पनि पत्रकारिता चलाए जस्तो बोलेर, ट्वीट गरेर मुलुक चलाउने होइन, कानून सदन चलाउने, मुलुक चलाउने र देश चलाउने पद्धतिको विकास होस भनेर माग गर्न चाहन्छु । सभामुख महोदयमार्फत सरकारलाई यो विषयमा रुलिङ गर्नुपर्छ ।’

गृहमन्त्री लामिछानेले मापसे, लेनअनुशासन लगायतका कारबाहीमा परेकाहरूलाई जरिवाना समेत लिएर स्वयं सेवकको बहानामा पहेँलो ज्याकेट लगाउन लगाएर मानिसहरूलाई कानून विपरित सडकमा उतारेपछि विरोध भइरहेको छ ।

Published : Sunday, 2024 June 2, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया