एमाले अध्यक्ष ओलीद्वारा बालेनलाई नानाभाँती आरोपसहित आलोचना

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’को आलोचना गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्नु सभ्य काम नभएको बताए । बालेनप्रति ओलीको अभिव्यक्तिले हलचल ल्याइदिएको छ ।

यस्तो क्रियाकलाप गलत भएको र एउटा महत्वपूर्ण पदमा बसेको मान्छेले यस्तो व्यवहार गर्न नमिल्ने ओलीले बताए । उनले गलत कामलाई अरूले गलत भन्न सक्नुपर्ने बताए ।

ओलीले भने, ‘म छक्क पर्छु, कति साह्रो कमजोर प्रवृत्ति भएको होला मान्छेलाई । कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँकिदिन्छ ? यो गलत ग¥यौ भनेर कसैले भन्न सक्दैन । के हालत होला यो ! यो गलत हो, यस्ता क्रियाकलाप हुन हुँदैन ।’

‘स्वस्थ र सभ्य समाजका लागि असन्तुष्टि, आक्रोश, प्रतिक्रिया केही पनि देखाउने तरिका भनेको मलाई छिमेकीसँग अलिकति चित्त बुझेन, रिस उठ्यो भने घरको फोहोर–सोहोर जम्मा गरेर लगेर उसको ढोकामा फ्याँकिदिने ? यो कुनै सभ्यता हो ? आज यङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन’, ओलीले भने ।

‘उनीहरूको एउटा मण्डली हुन्छ, त्यो मण्डलीले वाह, जन्मिएछ एउटा बहादुर, क्या बात लेख्छ । अनि अरू चुप लागेर बस्छन्’, ओलीले भने, ‘झोक्राएर बस्छन् । यति पनि भन्न सकिँदैन, यो त सभ्य तरिका भएन ! यो आधुनिक सभ्य समाजलाई सुहाउँदो तरिका भएन ।’

उनले भने, ‘एउटा महत्वपूर्ण पदमा बसेका मान्छेले गर्न मिल्ने व्यवहार होइन यो । त्यति पनि भन्न सकिँदैन ।’

लाचारीको फाइदा लिएर एउटा एनार्किजमको बोलबाला भइरहेको ओलीले बताएका छन् । हाम्रो समाजलाई एनार्किस्ट होइन, डेमोक्र्याटिक बनाउन खोजेको भन्दै ओलीले एनार्किजम र डेमोक्रेसीमा धेरै फरक भएको बताएका छन् । ओलीले भने, ‘हामी डेमोक्रेसीलाई अगाडि बढाउँछौं, एनार्किजमलाई होइन ।’

उनले भने, ‘हामी एउटा सभ्य, लोकतान्त्रिक, न्यायपूर्ण, शान्तिपूर्ण र समृद्ध समाज बनाउन चाहन्छौं ।’ ‘कोही बोल्दैन भने कसले सम्झाउने ? भन्ने कोही छैन भने नराम्रै गर्नुपर्ने रहेछ भन्ने लागिरहन्छ’, ओलीले भने, ‘यहाँ त्यस्तै भइरहेको छ । यस्तो कुरामा सम्झाउनुपर्छ । बोल्नुपर्छ ।’

‘किनभने यो हामीले बाँचिरहेको समाज हो, यो कस्तो हुनुपर्छ भनेर भन्ने हामीलाई अधिकार छ’, उनले भने, ‘हामीले भन्नुपर्छ । हाम्रो कर्तव्य र दायित्व हो ।’

काठमाडौंका मेयर बालेनले जेठ १२ गते चक्रपथ विस्तारको काम ढिलासुस्ती भएको भन्दै सडक डिभिजन काठमाडौं र सडक विभागको गेटमा एक ट्रक धूलो फालेका थिए ।

Published : Saturday, 2024 June 1, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया