बजेटप्रति एमाले असन्तुष्ट, ओलीले अर्थमन्त्रीको पार्टीको जस्तो भनेपछि तरङ्ग

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले बजेटमाथि कठोर टिप्पणी गर्दै अर्थमन्त्रीको पार्टीको बजेट जस्तो रहेको भनेका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि ? अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलि बढ्ता देखिन गएको छ ।’ सरकारमा रहेका दलहरूसँग परामर्श गरेर आएको बजेट भए धेरै राम्रो हुने उनले बताए ।

‘रकमको बाँडफाँट पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको खालको जस्तो देखिन्छ’, उनले भने, ‘यो कमी रहेको छ । यसको निर्माण प्रक्रियामा नै कमी रह्यो, जसले गर्दा त्यो कमी नरहनु पर्दथ्यो, रहन जाँदा यसमा गम्भीर त्रुटिहरू रहे ।’

उनले भने, ‘हामीले समाजवाद निर्माणको बाटो लिएका छौँ । त्यसका लागि समाजवाद निर्माणका आधारहरू तयार गर्ने, समाजवादउन्मुख बजेट, नीति, कार्यक्रम, योजनाहरू, ती कुराहरू बजेटले स्पष्ट ढंगले समाउनुपर्दथ्यो । अलि अन्योलग्रस्त देखिन्छ ।’

‘पछि साथीहरूले यस सम्बन्धमा छलफल गर्नु नै हुनेछ । एउटाचाहिँ हामीमा कुनै दुविधा हुनु हुँदैन, यस बजेटलाई हामी समर्थन गर्छौँ र पारित गर्छौं’, ओलीले भने, ।

ओलीले भने, ‘यसको मतलब बजेटमा रहेका कुनै कमी पनि औँल्याउन हुँदैन भन्ने होइन ।’

‘यो बजेट एकदमै सामान्य हिसाबले भन्ने हो भने दफावार हिसाबले नजाँदा पनि यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर बजेट आएको भए धेरै राम्रो बजेट हुनसक्थ्यो’, ओली भने ।

‘अहिले हामीसँग प्रस्तुत भएको बजेट वक्तव्यसँग सम्बन्धित र खासगरी करका दरहरूसँग सम्बन्धित, खासगरी भन्सार र आयकरसम्बन्धी, अरू विभिन्न प्रकारका करहरूसम्बन्धी या सम्पूर्ण आयको अनुमानसम्बन्धी र व्ययका क्षेत्रहरू र अनुमानमा आधारित भएर कस्तो खालको दिशा समेटेको छ बजेटले ? हामी जानुपर्ने कतो हो ? सैद्धान्तिक रूपमा कस्तो दिशा समातेको छ ? यी विषयहरूमा केन्द्रित भएर छलफल गर्नेछौँ’, उनले भने ।

‘अरू छलफल बाँकी रहन्छ । अघि नै मैले भनेँ– विनियोजनको सन्दर्भमा पछि हामी फेरि कुन–कुन मन्त्रालय, कस्तो विनियोजन भयो ? र, त्यसमा कुन–कुन कार्यक्रममा के भएको छ ? कुन नयाँ थपिएको छ ? कुन पुरानो जारी छ ? कुन कटौती गरिएको छ ? कुन पूरा भयो ? कुन अपूरैमा कटौती भयो ? नाम मात्रैको आयोजना राखियो । तर, बजेट छुट्ट्याइएन कि ? कहाँ कस्तो कमी रहे ? त्यसलाई पनि हेरिनेछ’, ओलीले प्रश्न गर्दै भने ।

‘यस बजेटका सवल पक्षहरू के हुन् ? सकारात्मक पक्षहरू के हुन् ? ती पनि हेरिनेछ’, उनले भने, ‘यसमा कमीकमजोरीहरू के छन् ? त्यसलाई पनि हेरिनेछ । र, यस सन्दर्भमा हामी अलिक छलफल खुलेर नै गर्छौँ ।’

ओलीले भने, ‘कतिपय ठाउँको बजेटलाई घटाएर त्यसलाई अर्को ठाउँमा सार्नुप¥यो भन्ने जस्ता कुराहरू छन् की ? ती पनि हेर्नुपर्छ । यदि त्यस्तो छैन र कसैलाई अनुकूल र कसैलाई प्रतिकूल भयो भन्ने कुरा पनि भन्नुपर्छ ।’

ओलीले भने, ‘बजेटमार्फत आएका नीतिहरूमा केही ओजनपूर्ण, केही शब्दहरूकै पनि उपयुक्तखालको प्रयोग नहुने कुरा, अथवा केही शब्दहरूको प्रयोग भएको तर, त्यसको भाव अर्थ र महत्वलाई बोक्न नसकेको त्यस्तो खालको स्थिति छ । ती कुरालाई हामीले हेर्नु र छलफल गर्नुपर्छ ।’

Published : Saturday, 2024 June 1, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया