पूर्व लडाकुलाई रकम बाँड्न बजेट, बैंकको ब्याजदर पनि बढ्छ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारले ऋणको ब्याजदर बढाउने गरी बजेट ल्याएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेका डा.महतले आन्तरिक ऋणको आकार बढाइएकाले अब ब्याजदर बढ्ने बताए ।

‘बैंकिङ क्षेत्रका साथीहरू खुसी हुनु भएको होला सरकारले ऋण लिने भयो भनेर । तर, यसले निजी क्षेत्रलाई दबाब पर्छ’, डा.महतले भने, ‘ऋण त सरकारले लान्छ । अनि निजीले ऋण पाउँदैन ।’

उनले भने, ‘रोजगारी सिर्जना गर्ने त निजी क्षेत्रले हो । ऋण नपाएपछि रोजगारी सिर्जनामा पनि समस्या आउँछ ।’

‘ब्याजदर बढ्छ र यसले निजी क्षेत्रलाई ऋण पाउनै मुस्किल हुन्छ’, प्रवक्ता डा.महतले भनेका छन् ।

डा.महतले माओवादीका पूर्वलडाकुलाई रकम बाँड्ने गरी बजेट बनाइएको बताएका छन् । लडाकुलाई कुन शीर्षकमा कति रकम छुट्याइएको छ भन्नेबारेमा क्रमशः खुल्दै जाने उनले बताए ।

३ करोडभन्दा मुनिका र स्रोत सुनिश्चितताबिनाका योजना पनि बजेटमा समावेश गरिएको भन्दै डा.महतले यसले भुक्तानीमा समस्या आएको बताएका छन् ।

‘३ करोडभन्दा मुनिका योजना नराख्ने भनेर प्रधानमन्त्रीले नै भन्नुभएको थियो । यो तोडियो’, डा.महतले भने, ‘उच्चस्तरीय आयोग भनेर फेरि झारा टार्ने काम गर्नुभयो ।’

उनले भने, ‘मैले सुधार गर्नुपर्छ भन्दा उहाँहरुले अप्ठ्यारो मान्नुभयो । अहिले स्रोत सुनिश्चितताबिनै योजना राख्नुभयो । आयोजनाको भुक्तानीमा अब फेरि समस्या आउँछ ।’

डा.महतले सरकारले बजेटमा आइटी क्षेत्रलाई प्राथमिकता दिएपनि कार्यान्वयनको कार्ययोजना नल्याएको बताए । उनले सरकारले ल्याएको बजेटका हरेक कार्यक्रम र योजनाहरू कार्यान्वयनमा चुनौती रहेको बताए ।

उनले आगामी आर्थिक वर्षको बजेट ऋण लिएको रकम लगानी गरी ऋणको सावाँ ब्याज तिरेर नाफा गर्ने लक्ष्य राख्नुपर्ने भएपनि ऋणमा मात्रै निर्भरता हुने गलत नीति लिएको बताए ।

‘सरकारले ऋण लिएर लगानी गर्दैछ भने ऋणको सावाँ ब्याज तिरेर पनि नाफा गर्ने लक्ष्य राख्नुपर्छ’, उनले भने, ‘त्यो नराखी ऋणमा निर्भरता हुने सरकारको नीति गलत हो । केही बढाउनु ठीकै थियो ।’

‘१५ लाख रोजगारी १० वर्षमा सिर्जना गर्ने भनिएको छ । एक वर्ष सरकार बस्छ कि बस्दैन १० वर्षका कुरा गरेर के गर्ने ? एक वर्षमा परिणाम के निकाल्छ ? त्यसको कार्ययोजना हुनुपर्छ । यो केही पनि छैन’, उनले भने ।

‘मैले प्याज, आलु र स्याउमा भ्याट भन्सार विन्दुमा लगाएको हो । आन्तरिक नउठाउने भनेको थिएँ’, डा.महतले भने, ‘अर्थमन्त्रीले प्याज, आलु र स्याउमा भ्याट हटाएको छु । यसले आन्तरिक उत्पादनलाई प्रोत्साहित हुने छ भनेर झुटो कुरा गर्नुभयो ।’

पूर्वअर्थमन्त्री डा.महतले वर्तमान सरकारले वितरणमुखी एजेण्डाहरू अघि सारेको भन्दै यसबाट उपलब्धि हासिल हुने सम्भावना कम रहेको बताए ।

Published : Friday, 2024 May 31, 8:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया