ढकालको प्रश्न– नारायणकाजीको आशीर्वाद लिएर कांग्रेस रुपान्तरणमा हिँड्दा पार्टी कहाँ पुग्छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता विमल ढकालले नारायणकाजी श्रेष्ठको आशीर्वाद लिएर कांग्रेसको रुपान्तरणमा हिँड्दा पार्टी कहाँ पुग्छ ? भनेर प्रश्न गरेका छन् ।

बिहीबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढकालले तत्कालीन समयमा गृहमन्त्री रहेका बेला माओवादीका नेता श्रेष्ठसँग गृह मन्त्रालयमा आशीर्वाद लिएर नेताहरू कांग्रेस रुपान्तरणको अभियानमा हिँडेको बताए । उनले भने, ‘तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कांग्रेसका केही नेताहरूले गृह मन्त्रालयमा भेटेर आशीर्वाद लिएर कांग्रेस रुपान्तरणमा हिँड्दा पार्टीको अवस्था के हुन्छ ?’

खाणलाई सरकारले झुठ्ठा मुद्दामा पक्राउ गरेर थुनेका बेला कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, सुवास पोखरेल लगायतले गृहमन्त्री भेट्न सिंहदरबार पुगेका थिए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको अनुसन्धान अघि बढेकोमा उनीहरूले गृहमन्त्रीका कदम र प्रहरी प्रशासनका कामप्रति ऐक्यबद्धतासमेत जनाएका थिए ।

नेता ढकालले कांग्रेसका नेता बालकृष्ण खाणलाई कसैले अभियोग लगाएकै भरमा पक्राउ गर्दा पार्टीका नेताहरूले एकशब्द बचाउमा नबोलेकोमा असन्तुष्टि जनाउँदौ कैलाश सिरोहियाको बचाउनमा लाइन लागेर नेताहरू जाने परिपाटीले कांग्रेसलाई कहाँ पुर्‍याउँछ भनेर प्रश्न गरेका छन् । कैलाश सिरोहियाको बारेमा लाइन लागेर कार्यालयमा पुगेर बोल्ने कांग्रेसका नेताहरूले त्यो बेला खाणलाई झुठ्ठा मुद्दामा फसाइएका बेला किन नबोलेको भनेर नेता ढकालले प्रश्न गरेका छन् ।

पार्टीभित्रका शक्तिशाली र लोकप्रिय नेताहरूलाई धमाधम आक्रमण गरेर सिध्याउने कार्य भइरहेको उनले बताए । नेता खुमबहादुर खड्काको पालादेखि कांग्रेसभित्रका लोकप्रिय र शक्तिशाली नेताहरूलाई सिध्याउने षड्यन्त्र र खेल भएको भन्दै नेता ढकालले महामन्त्री गगन थापाहरू पनि त्यो निशानामा पर्न सक्ने चेतावनी दिएका छन् । महामन्त्री थापालाई निर्वाचनका बेला चौतर्फी घेराबन्दी गरेका बेला जितेर आएको र अहिले पनि विभिन्न बहानामा आक्रमणहरू भइरहेको भन्दै नेता ढकालले यस्ता घटनालाई गम्भीर रुपमा लिन आग्रह गरे । महामन्त्री थापा पनि लोकप्रिय रहेकाले कुनै पनि बेला कुनै पनि घटनामा फसाउन सक्ने ढकालको भनाइ छ ।

कार्यक्रमको प्रमुख अतिथि महामन्त्री थापा थिए । नेता ढकालले राखेको अभिव्यक्तिप्रति कुनै टिप्पणी गरेनन् । यद्यपि, महामन्त्री थापाले नेता ढकालको भनाइ र अभिव्यक्तिलाई गम्भीरतापूर्वक रुपमा सुनेका थिए ।

नेता खाणलाई फसाएर थुनेको विषयमा बोल्दा कांग्रेसका सह–महामनत्री महेन्द्र यादवलाई आक्रमण गराइएको समेत नेता ढकालले बताएका छन् ।

यसैबीच, नेता ढकालले संसदमा कुनै पनि योगदान नभएका, विदेशमा बसेर विदेशमा पनि टिक्न नसकेर नेपाल फर्किएर आएको झुण्डले नेपालमा पनि अबाञ्छित गतिविधिमा हाबी भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनको दलका नेताहरूप्रति लक्षित गर्दै ढकालले भने, ‘यो समूह ०५१ सालमा खोभारी रायलाई जसरी संसदमा तानातानमा भएको थियो त्यसै गरी अहिले तानातान भएको छ ।’

‘सरकार बचाउन संख्या पुर्‍याउने हैसयतमा छन् । अर्को चुनावमा यो अबाञ्छित शक्ति पलायन हुन्छ’, नेता ढकालले भने, ‘यिनीहरूको प्रवृत्तिसँग सचेत हुनुपर्छ । एमाले यस्तै अवाञ्छित तत्तवलाई बोकेर हिँडेको छ ।’

कांग्रेस नेता ढकालले तत्कालीन समयमा मध्यावधि चुनावपछि भएको ०५६ को चुनावमा खोभारी रायहरू समाप्त भए जस्तै अहिलेको अबाञ्छित शक्तिहरू समाप्त हुने बताएका छन् ।

Published : Friday, 2024 May 31, 7:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया