परम्परागत तारा खेल बेनीमा सुरु, ठेलो खेल हुने

पोखरा । म्याग्दीको बेनीमा गण्डकी प्रदेशस्तरीय परम्परागत तारा खेल सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबारबाट उक्त प्रतियोगता सुरु भएको हो ।

परिषदको वार्षिक कार्यक्रम अनुसार आयोजित उक्त प्रतियोगितामा ६ जिल्लाका ४२ खेलाडीहरूको सहभागिता रहेको छ । आयोजक म्याग्दीको दुई टोलीसहित मुस्ताङ, पर्वत, बाग्लुङ, कास्की र मनाङको सहभागिता रहेको छ ।

मनाङ, मुस्ताङ हुँदै तेस्रो सस्करण म्याग्दीमा सुरु भएको प्रतियोगिताले परम्परागत तारा खेलले यो खेलको विकासका लागि समेत उत्तिकै प्रभावकारी हुने आयोजकले जनाएका छन् ।

आधुनिक आर्चरी खेलले परम्परागत तारा खेल ओझेलमा छ । स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिएका धनुषबाणको प्रयोग गरेर यो खेलको संरक्षण हुनुपर्छ भन्ने सन्देश दिन प्रतियोगिता गरिएको छ । मौलिक पञ्जेबाजासहितको खेलाडी र स्थानीयले र्‍यालीसहित बनी बजार परिक्रमा गरेका छन् ।

तारा खेलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद ७५ हजार, ५० हजार र ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वश्रेष्ठ धर्नुधरले नगद ५ हजार र विशिष्ट धर्नुधरले नगद ३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

गण्डकी प्रदेशमा मौलिक खेलको रुपमा रहेको ठेलो खेल शनिबार बेनीमा हुने भएको छ । ठेलो खेलमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

गत वर्ष मुस्ताङको लेतेमा सम्पन्न तारा खेलमा बागलुङ उपाधि जितेको थियो । बागलुङले म्याग्दीलाई झिनो २ अंकले फाइनलमा पराजित गरेको थियो ।

Published : Friday, 2024 May 31, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया