तिलोत्तमा बेरुजु फर्छ्यौटमा रुपन्देहीका पालिकाहरूमध्य सबैभन्दा उत्कृष्ट

बुटवल । रुपन्देही जिल्लाका नगरपालिका र गाउँपालिकाहरूमध्य तिलोत्तमा नगरपालिका बेरुजु फर्छ्यौटमा उत्कृष्ट देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैै आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षणमा तिलोत्तमा नगरपालिका रुपन्देहीमा बेरुजु फर्छ्यौटमा उत्कृष्ट देखिएको हो ।

तिलोत्तमाको यस आर्थिक वर्षमा जम्मा १.४१ प्रतिशत मात्रै बेरुजु देखिएको छ ।

बजेट योजना कार्यान्वयन, राजश्व प्रशासन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, संस्थान सञ्चालन तथा व्यवस्थापन, लेखांकन प्रतिवेदन तथा आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा नियमन, वित्तीय संघीयता कार्यान्वयन र सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार भएकाले तिलोत्तमा उत्कृष्ट देखिएको छ ।

अरु पालिकाहरूको तुलनामा तिलोत्तमाले आर्थिक अनुशासनमा रहेर लापरबाही तरिकाले बजेट खर्च तथा रकम परिचालन गरेको नदेखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

तिलोत्तमा नगरपालिकाको ४ अर्ब ४१ करोड ९८ लाख ९१ हजार रुपियाँको लेखा परीक्षण गरिएको थियो । त्यसमा ६ करोड २३ लाख २७ हजार मात्रै बेरुजु देखिएको छ ।

सबैभन्दा बढी बुटबल उपमहानगरपालिकाको बेरुजु देखिएको छ । रुपन्देहीका १६ पालिकाको कूल बेरुजु रकम ८७ करोड, ७० लाख, ५१ हजार रुपियाँमध्ये बुटवलको मात्रै १८ करोड एक लाख १६ हजार रुपियाँ छ ।

प्रतिशतका हिसाबले रोहिणी गाउँपालिकाको सबैभन्दा बढी ५.०६ प्रतिशत र सिद्धार्थनगर नगरपालिकाको ४.४८ प्रतिशत बेरुजु देखिएपनि रकमका हिसाबले बुटवलको बेरुजु रकम जिल्लामै बढी हो ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार सबैभन्दा कम तिलोत्तमा नगरपालिकाको १.४१ प्रतिशत छ ।

देवदह नगरपालिकाको २.२०, लुम्बिनी सांस्कृतिक नगरपालिकाको ३.०७ र सैनामैना नगरपालिकाको १.५० प्रतिशत बेरुजु देखिएको छ ।

गाउँपालिकातर्फ ओमसतियाको १.८७ प्रतिशत, कन्चनको १.२२, कोटहीमाईको ३.४८, गैडहवाको २.४३, मर्चवारीको २.६७ , मायादेवीको २.६७, सम्मरीमाईको ४.०२, सियारीको १.७५ र शुद्धोधन गाउपालिकाको २.४५ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

Published : Friday, 2024 May 31, 11:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया