लुम्बिनीमा राजस्वको प्रमुख स्रोत पर्यटन, गिट्टीबालुवा र कृषि : कांग्रेस प्रमुख सचेतक तिमिल्सिना

मसुरिया । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सत्तापक्षसँग भएको घोँचपेच र नोँकझोँकप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार देउखुरीको मसुरियामा बसेको लुम्बिनी प्रदेशसभाको बैठकमा बोल्दै तिमिल्सिनाले भने, ‘सदन कसले चलाउने, सदनको रुलिङ कसले गर्ने, आफ्नो पार्टीभित्र कसले रुलिङ गर्ने ? आफ्नो पार्टीभित्र नेता होला नि ?’

‘हामी कम बुझ्दछौँ होला । कम जान्दछौँ होला त्यो कुरा हामी स्वीकार र्छौं । हामीले नबुझेको कुरा बुझाउने हो भने त्यसको बुझाउने थलो पनि छ, यो संसद पनि होइन भन्ने कुरो यहाँले बुझिदिनु होला’, तिमिल्सिनाले चेतावनी शैलीमा भने ।

यसैबीच, कांग्रेसका प्रमुख सचेतक तिमिल्सिनाले केन्द्र सरकारसँग समन्वय गरेर रासायनिक मलको विषयमा प्रदेश सरकारले अधिकार लिने विषयमा सुझाव दिएका छन् । उनले लुम्बिनी प्रदेशको राजस्वको प्रमुख स्रोत पर्यटन, स्थानीय गिट्टीबालुवा र कृषि रहेको भन्दै त्यसतर्फ आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रम आउनुपर्ने सुझाव दिए ।

उनले पर्यटकी क्षेत्र, स्थानीय गिट्टीबालुवा र कृषिलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्नुपर्ने बताएका छन् ।

बनमा रुखहरू ढलेर नोक्सानी हुने अवस्थामा रहेको भन्दै तिमिल्सिनाले त्यसलाई उठाउन पहल गर्नुपर्ने बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट स्थानीयलाई भइरहेको समस्याका बारेमा तिमिल्सिनाले यो विषयलाई पनि बजेटले सम्बोधन गर्नपर्ने बताए ।

उनले खोलानाला र नदी भए पनि त्यसको पानी कृषिका लागि प्रयोग गर्न नपाएको बताए ।

Published : Thursday, 2024 May 30, 3:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया