ओलीको घमण्ड बढेका बेला सभापति देउवासँग ३ दलका शीर्ष नेताहरूद्वारा परामर्श

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मावकुमार नेपाल, उपेन्द्र यादव र महन्थ ठाकुरसँग छलफल गरेका छन् ।

बुधबार काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल, जनता समाजवादी पार्टी नेपाल अध्यक्ष यादव र लोकतान्त्रिक समाज पार्टीका अध्यक्ष ठाकुरसँग पछिल्लो राजनीतिक अवस्था र सम्भावित समीकरणबारे छलफल गरेका हुन् ।

चार शीर्ष नेताहरूका बीच मधेश प्रदेशमा सरकार गठनबारे छलफल भएको लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले बताएका छन् ।

भण्डारीले भने, ‘बजेटबारे छलफल भयो । सहकारी प्रकरणमा गठन भएको छानबिन समितिको विषयमा पनि छलफल गरियो ।’

‘हामीले विपक्षी गठबन्धनलाई बलियो बनाएर अगाडि बढ्ने सहमति पनि गरेका छौं’, नेता भण्डारीले भने ।

‘हाम्रो छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुनुहुन्थ्यो’, भण्डारीले भने, ‘उहाँसँगको मुख्य छलफल मधेश सरकारमा केन्द्रित रहेर भएको थियो ।’

‘उहाँ (माधवकुमार नेपाल)ले मधेश सरकारको बारेमा पार्टीमा निर्णय गरेर टुङ्गो दिन्छु भन्नुभएको छ’, नेता भण्डारीले भनेका छन् ।

शीर्षहरूले केन्द्रीय सरकारको काम कारबाहीका बारेमा पनि छलफल गरेको नेता भण्डारीले बताएका छन् ।

जसपाका अध्यक्ष यादवले मधेश सरकार गठनका लागि कांग्रेस सभापति देउवासँग सहयोग मागेका छन् ।

वर्तमान सत्ता गठबन्धन फोडेर माधव नेपालको सहयोगमा नयाँ गठबन्धन निर्माण गर्न चलखेल गरेको आरोप लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यादव नेतृत्वको पार्टी फुटाइदिएका थिए ।

त्यसपछि स्वास्थ्य मन्त्रीसमेत रहेका यादव गठबन्धनबाट बाहिरिएका थिए । उनको पार्टी फुटको विषय अहिले अदालतमा पुगेको छ ।

मधेश प्रदेश सरकारको मात्र नभएर एमाले–माओवादी नेतृत्वको गठबन्धनको विकल्प खोज्नेबारे समेत छलफल भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालको सहभागितामा देउवाले वर्तमान गठबन्धनको विकल्पका विषयमा छलफल गरेका हुन् ।

अध्यक्ष नेपाल अहिलेको गठबन्धनबाट असन्तुष्ट छन् । एमाले अध्यक्ष केपी ओलीले गठबन्धनमा खेलिरहेको भूमिकाप्रति नेपाल रिसाएका छन् ।

सुदरपश्चिममा नेकपा (एकीकृत समाजवादी)बाट दीर्घ सोडारी मुख्यमन्त्री बनेका छन् । एमालेकै कारण मुख्यमन्त्री सोडारीले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

नेपालले देउवासँग केन्द्र र प्रदेशको समेत सम्भावित समीकरणबारे छलफल गरेको बुझिएको छ ।

सभापति देउवासँगको छलफलमा माधवकुमार नेपाल, उपेन्द्र यादव, महन्थ ठाकुर तथा गगनकुमार थापा, मेटमणि चौधरी, शरतसिंह भण्डारी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

एमालेका अध्यक्ष केपी ओलीले आफूलाई निकै अहँकारी र घमण्डका रुपमा प्रस्तुत गरिरहेका बेला सभापति देउवासँग तीन वटा दलका अध्यक्षहरूले भेट गरेर परामर्श गरेका छन् ।

Published : Wednesday, 2024 May 29, 9:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया