सहकारी काण्डमा लामिछानेलाई न्यायालय बाहेक सबैले निर्दोष भनिसके : कांग्रेस नेता चापागाइँ

काठमाडौं । नेपाली कांग्रेसका नेता उत्तम चापागाइँले सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् गृहमन्त्री रवि लामिछानेलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश बाहेक सबैले निर्दोष भनेर सफाइ दिएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तरुण दलका पूर्वउपाध्यक्ष समेत रहेका नेता चापागाइँले सहकारीको रकम अपचलन र ठगी प्रकरणमा न्यायालयले उचित फैसला गर्ने बताए । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण न्यायालयमाथि विश्वास गर्नुपर्ने उनले बताए ।

‘अहिले सहकारीको प्रकरण बाहिर आएको छ, मात्रै सर्वोच्च अदालतको प्रधानन्यायाधीशले बोलेको छैन, त्यो मान्छे निर्दोष हो भनेर, बाँकी सबैले बोलिसके’, चापागाइँले भने ।

‘त्यो मान्छे निर्दोष हो भनेर केपी ओली बोलिसक्नुभयो । संसदमा गएर कराइ रहनुभएको छ । पिलर केपी ओलीलाई भतभती पोलिरहेको छ’, नेता चापागाइँले भने ।

‘सबै निकायले उन (रवि लामिछाने)लाई चोखो बनाइसक्यो’, उनले भने, ‘मात्रै एउटा न्यायालय बाँकी छ । हामीले न्यायालयलाई कुरेको अवस्था छ ।’

कांग्रेस नेता चापागाइँले भने, ‘सहकारीको रकम अपचलन र ठगीका विषयमा छानविन हुँदै छ । हामी ढुक्क हौँ । प्रजातान्त्रिक पद्धतिमा हिँडेको पार्टी भएको कारणले हामीले विश्वास गर्नुपर्छ । संसदीय छानविन समितिले सत्यतथ्य ल्याउनेछ ।’

‘हामी एउटा व्यक्ति टार्गेट गर्ने होइनौँ । सहकारीमा लाखौँ लाख मान्छेहरू पीडित भएका छन्’, उनले भने, ‘डुबेका रहेछन् । यतातिर हामी गम्भीर लाग्न जरुरी छ ।’

चापागाइँले पार्टीमा अवसर नपाएका नेताहरूलाई नेतृत्वले अवसर दिएर संगठन निर्माणमा खटाउनुपर्ने बताए । उनले संगठन निर्माण भयो भने कांग्रेसको शिर उच्च हुने बताए ।

‘हामीले नै हो संगठन गर्ने । हामीले संगठबन बनाउँदा कांग्रेसको शिर उच्च हुने हो’, नेता चापागाइँले भने, ‘गणतन्त्रको स्थायित्व हुने हो । यो संविधान रक्षा हुन्छ । यो संविधान कार्यान्वयन गर्न सहज हुनेछ ।’

कार्यक्रममा राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, केन्द्रीय सदस्य कुन्दन काफ्ले, केन्द्रीय सदस्य गणेश लामासहितका नेताहरूको पनि उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2024 May 29, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया