एमाले मन्त्री चौधरीद्वारा बजेटको विरोध, प्रधानमन्त्री छोरी कार्यक्रमलाई पैसा पुगेन

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा चौधरीले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम बनाइरहँदा मन्त्रालयमै पनि हाँसिमजाक गर्ने कुरा भएको बताइन् । उनले आफूले प्रधानमन्त्री छोरी कार्यक्रमका लागि निरन्तर बजेट बढी विनियोजन गर्न आग्रह गरेको भए पनि त्यसअनुसार बजेट विनियोजन हुन नसकेको बताएकी छिन् ।

एमाले नेतृ समेत रहेकी मन्त्री चौधरीले महिलाको अधिकारका लागि बजेट माग्दा कम बजेट दिनुले आफूलाई ग्लानि महसुस भएको बताएकी छिन् ।

‘आर्थिक रूपले सशक्तीकरण जबसम्म हुँदैनन् महिलाहरू तबसम्म भोको पेटले सारङ्गी बज्दैन’, चौधरीले भनिन्, ‘मैले त्यो आधारमा आर्थिक रूपले सशक्त हुने कार्यक्रम गर्नुपर्छ भनेर प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम बनाइरहँदा मन्त्रालयमै पनि हाँसिमजाक गर्ने कुरा आयो ।’

‘नीति तथा कार्यक्रममा पनि प्रधानमन्त्री छोरी आत्मनिर्भरको कार्यक्रम आयो, त्यतिखेर प्रतिपक्ष दल मात्र नभई सत्तापक्ष दलदेखि सबैले हाँसेर प्रधानमन्त्रीलाई पनि हँसाइदिनु भयो’, मन्त्री चौधरीले भनिन् ।

‘कस्तो छ हाम्रो सोचाइँ भन्ने हो । सरकारको नेतृत्व गर्ने भएको हुनाले, सरकारसँग जोड्नका लागि प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम राखेका हाँै’, उनले भनिन् ।

‘यसमा राम्रै हुन्छ भनेर हामीले सोँचेका थियौँ । बढी आउला की बजेट भन्ने सोचेका थियौँ’, उनले भनिन्, ‘हेर्नुस् बिचरा १० प्रतिशत भनेको जस्तो । मलाई हिजो अलि अलग किसिमको ग्लानि भयो ।’

सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपियाँको बजेट विनियोजन गरेको छ ।

Published : Wednesday, 2024 May 29, 4:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया