बजेटप्रतिको टिप्पणीमा कांग्रेस सांसद खतिवडाले सुनाए फिस्टे चराको कथा

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट आशा लाग्दो नरहेको टिप्पणी गरेका छन् ।

मंगलबार संसद भवन परिषर नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै सभापति खतिवडाले फिस्टे चराले बाँसको टुप्पो निहुराए जस्तै हबिगतीको बजेट आएको बताए ।

खतिवडाले भने, ‘अहिले पनि साह्रै आशा लाग्दो त छैन, भरोसा लाग्दो छैन । यो पनि एउटा फिस्टो उडेर नुगेको बाँसको टुप्पोमा आएर बसे छ र भनेछ । आमा–आमा म त भुरर उडेर आएर यो रुखमा बसेको यो रुख नुगेर भुइँ छायो भन्थ्यो रे । खुट्टी हेर्दै पत्याएँ बाबु भनेर आमाले जवाफ दिए जस्तै छ । खुट्टी हेर्दा साह्रै आशा लाग्दो छैन ।’

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद खतिवडाले जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था बजेटले गर्न नसकेकोमा चिन्ता जनाएका छन् । कांग्रेसको चाहना ७० वर्षभन्दा माथिको उमेर समूहका जेष्ठ नागरिकलाई निःशुल्क औषधि र स्वास्थ्य उपचार हुनुपर्ने रहेको बताए ।

उनले भने, ‘सबैभन्दा महत्वपूर्ण ७० वर्ष नाघेका जेष्ठ नागरिकहरूलाई कमसेकम फ्रिमा औषधि उपचार गर्ने व्यवस्था सरकारले गरोस् भनेर पहिलादेखि भनेको एउटा मात्रै पोजेटिभ कुरा गरेको भए राम्रो म्यासेज जाने थियो । पछिसम्म जनमानसमा हुने थियो ।’

‘आज धेरै दिनपछि रस्साकस्सीपछि बजेट आएको छ’, उनले भने, ‘बजेटमा आजु, प्याजका मूल्यबाट भ्याट हटाए पनि सबै पुरानै जस्ता कुराहरू छन् ।’

‘यो गरिनेछन्, त्यो गरिनेछ । त्यो हुँदै छ । प्रयास गरिनेछ । हामी लाग्छौँ भन्ने । सुन्दा कर्णप्रिय, कार्यान्वयन भयो भने राम्रो हुने हामीले विश्वास लिएका छौँ’, खतिवडाले भने ।

‘नेपालको आर्थिक अवस्थालाई मूल्याङ्कन गरेर ल्याएको हो भने हामी कुनै पनि राम्रा कुराको प्रतिपक्षले सधैँ विरोध गर्नुपर्छ भन्ने छैन । राम्रो कुराको हामी समर्थन गर्छौ’, उनले भने ।

सभापति खतिवडाले भने, ‘सधै पुरानै दोहोरी रहने नामहरू मेलम्ची हुनेछ, सिक्टा हुनेछ, बबइ चल्दैछ भन्ने ।’

Published : Tuesday, 2024 May 28, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया