अस्थिरताको जड मिश्रित निर्वाचन प्रणाली, हटाएर प्रत्यक्ष निर्वाचनमा जाऔँ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले गणतन्त्रको स्थायित्व र जनताको अवस्था परिवर्तनका निम्ति प्रमुख राजनीतिक शक्तिहरूबीच सहमति र सहकार्य अनिवार्य रहेको जनाएका छन् ।

मंगलबार १७औँ गणतन्त्र दिवसका अवरमा शुभकामना सन्देश जारी गरेर सभापति बानियाँले भनेका छन्, ‘पछिल्लो समय प्रमुख राजनीतिक दलहरूबीच दूरी बढेको मात्र छैन, संसदभित्र मुठभेडको अवस्था सिर्जना भएको छ ।’

‘यो अवस्थाको अन्त्य गर्दै मुलुकलाई पुनः सहमति र सहकार्यको बाटोमा अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष भूमिका रहनुपर्दछ’, सभापति बानियाँले भने ।

‘किन भने नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादीका अध्यक्ष प्रचण्डबीच १२ बुँदे सहमति हुँदै जनआन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्र घोषणासम्मको राजनीतिक यात्रामा मुख्य सहयात्री हुन ।’

‘मुख्य सहयात्री नेपाली कांग्रेससँगको दूरी बढाएर होइन, हातेमालो गरेर मात्र शान्ति प्रक्रिया टुंग्याउन र गणतन्त्रलाई स्थायित्व दिन सकिन्छ’, बानियाँले भने ।

‘म प्रधानमन्त्रीमा सहमति र सहकार्यको जिम्मेवारीबोध होस् भन्ने कामना पनि गर्दछु’, बानियाँले भने, ‘सरकारको अर्को मुख्य हिस्सेदार दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसमेत गतिरोध अन्त्य गर्दै सहमति र सहकार्यको निम्ति अग्रसर हुनुहोस् भन्ने कामना गर्दछु ।’

उनले भने, ‘जनताले गणतन्त्र प्राप्तिपछि राजनीतिक स्थायित्वसँगै जनताको अवस्थामा परिर्वतन हुने आशा गरेकोमा संघ र प्रदेश सरकारहरू झन् अस्थिरको भूमरीमा फसेका छन् ।’

‘निर्वाचनमा व्यक्त मत र जनआकांक्षा विपरीत हिँड्दा प्रधानमन्त्रीले १७ महिनामा ४ पटकसम्म विश्वासको मत लिनुपरेको छ’, सभापति बानियाँले भने, ‘कतिपय प्रदेश सरकार अल्पआयुमै भंग भई मध्यावधि निर्वाचनमा जानुपर्ने जोखिम देखिएको छभने प्रदेश सरकार संकट समाधान गर्न न्यायालय धाउनुपर्ने अवस्था बनेको छ ।’

उनले भने, ‘यसो हुनुमा संविधानमा रहेको मिश्रित निर्वाचन प्रणाली नै मुख्य दोषी देखिन्छ । यो संकटबाट बाहिर निस्कन संविधान संशोधन गर्दै प्रतिनिधिसभालाई पूर्ण प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभालाई पूर्ण समानुपातिक बनाउनु अनिर्वाय बन्दै गएको छ ।’

Published : Tuesday, 2024 May 28, 2:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया