चितवनमा प्यूठानको बससहित ४ सवारी साधन एकआपसमा ठोक्किए

भरतपुर । चितवनमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

ना ३ ख ७९१५ नम्बरको ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको उपचारका क्रममा चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्दाजी १६/१७ वर्षका किशोरको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन ।

नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आइतबार मध्यराति साढे १२ बजे चारवटा गाडी ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सबै २१ जना घाइतेहरूको भरतपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार काठमाडौंबाट प्यूठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस ठक्कर खाएका हुन् ।

Published : Monday, 2024 May 27, 10:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया