सहकारी ठगी र रकम अपचलनबारे लुम्बिनी सरकार गम्भीर बनोस् : रोज राणा

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सदस्य सरोज थापा (रोज राणा)ले लुम्बिनी प्रदेश सरकारले सहकारीपीडितको मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

आइतबार देउखुरीको मसुरियास्थित लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै राणाले बुटवलमा आन्दोलनरत सहकारीपीडितको मागलाई सम्बोधन गर्ने दायित्व प्रदेश सरकारको पनि रहेको बताए । उनले सहकारीको समस्या केन्द्रको हो भनेर चुपलागेर बस्न नहुने बताए ।

उनले भने, ‘हामी केन्द्रीय राजनीतिमा कहिँन कहिँ जोडिएकै छौँ । त्यो राजनीतिले हामीलाई पनि यहाँ छोएकै छ ।’

‘हिजो म आइरहँदा बुटवलमा एउटा आन्दोलन देखे । के आन्दोलन रहेछ भनेको सहकारी ठग मुर्दावाद अर्थात् सहकारी ठगलाई कारबाही गर, हाम्रो बचत फिर्ता गर भनेर चिच्याइ रहेको, आन्दोलन गरिरहेको देखे’, प्रदेशसभा सदस्य राणाले भने, ‘ती मान्छेहरूलाई हेरे । ती मान्छेहरू हिँजो मकै पोलेका मान्छेहरू, साग बेच्ने मान्छेहरू, ट्वाइलेट सफा गर्ने मान्छेहरू, ती मान्छेहरूको बचत जसरी अपचलन गरिएको छ त्यस्तो विषयमा यो लुम्बिनी प्रदेशको सरकार गम्भीर नभएको नेपाली कांग्रेस र मेरो व्यक्तिगत धारणा छ ।’

‘म एक पटक त्यो विषयमा पनि गम्भीर हुन यहाँहरूलाई म आग्रह गर्छु’, उनले भने, ‘बजेटको मुखमा आएको छ । हामीले ती बचतकर्ताहरूलाई के सहयोग गर्न सक्छौँ ? हामीले ती बचतकर्ताहरूको कसरी रकम फिर्ता गर्न सक्छौँ ? प्रदेश सरकारको पनि यो दायित्व हो । केन्द्रीय सरकार मात्रै भनेर हामी पन्छिने हो भने हामीले आफ्नै प्रदेशको औचित्यमाथि औँला उठ्याइरहेका छौँ भन्ने भन्न चाहन्छु ।’

लुम्बिनी प्रदेश सरकारलाई बचाउन मन्त्रालय विभाजन गरेर भागबण्डा मिलाएकोमा प्रदेशसभा सदस्य राणाले विरोध गरेका छन् । उनले भने, ‘केही समय अगाडि यहि रोस्ट्रममा आएर जोडजोडले मन्त्रिमण्डल थप्नु हुँदैन । थपियो भने केलाई भार पर्छ ? प्रदेशलाई भार पर्छ । हामी थेग्न सक्दैनौँ । भनेर जोडजोडले चिच्याउनेहरू आफ्नो भागबण्डा मिलाउनलाई जोडजोडले दौडधुप गरेर त्यहिँ मन्त्री भएर बसिरहनु भएको उहाँहरूलाई पनि म बधाइ भन्न चाहन्छु ।’

‘किन कि फेरि एक पटक यो सदनमा नेपाली कांग्रेस यो देशको चिन्ता गर्ने पार्टी हो । नेपाली कांग्रेस, यो देशलाई अगाडि बढाउन सधैँ तत्पर रहन्छ भन्ने कुराको पुष्टि भएको छ’, उनले भने, ‘यी मन्त्रिमण्डलहरू गठनले पनि ।’

‘अहिले बजेटको बेला छ । भरखरै मात्रै बुद्धजयन्ती सक्किएको छ । यस्ता द्वेषयका कुराहरू नगरौँ भन्ने मै म थिएँ । तर, बाध्यताको कुरा गर्नै पर्ने भयो । किन भने हिजोका दिनमा यहाँहरूले गरेको व्यवहार आज लागू गर्ने व्यवहार ठ्याक्कै मिलेन’, उनले भने ।

‘मलाई आशा छ । मन्त्रिमण्डलको आकार ठूलो भए पनि अहिले आउने बजेट त्योभन्दा अझै ठूलो आउनेछ । मैले आशा गरेको छु’, प्रदेशसभा सदस्य राणाले भने, ‘यसभन्दा अघिल्लो सरकारले ल्याएको भन्दा ठूलो बजेट यहाँहरू लिएर यो प्रदेशको उन्नति प्रगतिमा समानमुखी किसिमले सम्मानजनक किसिमले फेरि सत्तापक्ष र विपक्ष भन्ने नसोँचिकन यसलाई अगाडि बढाउनु हुन्छ भन्नेमा म अत्यन्तै आशावादी छु ।’

उनले भने, ‘मैले मुख्यमन्त्रीजीलाई देखिन । मैले मुख्यमन्त्रीजीलाई नदेखे पनि मुख्यमन्त्रीकै जिल्लाको स्वास्थ्यमन्त्रीजीलाई देखिरहेको छु । मैले उहाँलाई स्मरण गराउन चाहन्छु । उहाँ जाने बाटो प्यूठान भएर जानु हुन्छ, रोल्पा नै हो । त्यस कारणले रोल्पा जाँदाखेरी बड्डाँडादेखि देवीस्थानसम्मको बाटो कति पटक खुल्छ र ? कति पटक बन्द हुन्छ ? मैले उहाँलाई एकपटक स्मरण गराउन चाहेँ । मैले केन्द्रीय संसदका अर्थमन्त्रीलाई पनि यो कुराको स्मरण गराउन चाहन्छु । लामो समय भयो ।’

उनले प्यूठान जिल्लाको विकासमा विगतका जनप्रतिनिधिहरूबाट भएको गम्भीर लापरबाहीबारे चिन्ता जनाएका छन् ।

‘म यस्तो जिल्लाको मान्छे हुँ । लामो समय कम्युनिस्टहरूको मात्रै जनप्रतिनिधिहरू संसदमा आउनुभएको थियो’, उनले भने, ‘करीव २७ वर्ष पहिला नेपाली कांग्रेसका सांसद रहनु भएको थियो । त्यसपछि निकै लामो समयपछि म नेपाली कांग्रेसको सांसद जनप्रतिनिधिको रुपमा आएको छु ।’

‘मैले त्यो प्यूठान जिल्लाको विकास नहुनुमा ती जनप्रतिनिधिहरूलाई स्मरण गरेँ । के कारणले विकास भएन भनेर ? कम्युनिस्टहरूको उर्वरभूमि भनेर मानिने प्यूठान जिल्ला, मेरो जिल्ला, अहिले डडेलोले खत्तम भइसकेको छ’, राणाले भने ।

‘लुम्बिनी प्रदेशको अवस्था त्यस्तो छ । त्यतातिर हामीले अलिकति पनि ध्यान दिएका छैनौँ । यसको गम्भीर ध्यानाकर्षण गराउँछु म’, उनले भने ।

‘बजेट आउँदा अहिले नै हामीले शंका गरिसकेका छैनौँ । बजेट आउँदा समावेशी आउँछ भन्ने कुरामा निकै विश्वस्त छौँ । त्यो बजेट गरिबको पक्षमा आउँछ । जुन बजेट किसानको पक्षमा आउँछ । जुन बजेट भूकम्पपीडितको पक्षमा आउँछ, जुन बजेट आगलागीको पक्षमा आउँछ भन्ने कुरामा म विश्वस्त छु’, प्रदेशसभा सदस्य राणाले भनेका छन् ।

Published : Sunday, 2024 May 26, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया