भंगेरा फुतुक फुतुक झर्छ, कांग्रेसले तोप ल्यायो भने केपी ओलीहरू हल्लिनेछन् : सभापति श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले कांग्रेसले तोप बोकेर आयो भने केपी ओलीहरू हल्लिने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंको प्रदर्शनीमार्गमा कांग्रेसले सहकारी ठगलाई कारबाही र पीडितहरूलाई न्यायको माग गरेर आयोजना गरेको खुला सभालाई सम्बोधन गर्दै सभापति श्रेष्ठले कांग्रेसले भंगेरा मार्न तोप प्रयोग नगर्ने बताए । कांग्रेसले तोप प्रयोग गर्नै परे केपी ओलीहरूलाई समस्या हुने चेतावनी दिए ।

ओलीले केही दिन अगाडि कांग्रेसले भंगेरा मार्न तोप लिएर आएको भनेर अभिव्यक्ति दिएका थिए । ओलीको अभिव्यक्तिको ललितपुर कांग्रेसका सभापति श्रेष्ठले जवाफ दिएका छन् ।

उनले भने, ‘केही दिन अगाडि तथाकथित नाम गरेका उखानेबाजे भनेर नाउ सुनेका निवर्तमान प्रधानमन्त्री जस्तो पदीय आसिनमा प्रधानमन्त्री भइसकेको केपी ओलीले केही दिन पहिला एउटा कुरा बोल्नुभयो ।’

‘नेपाली कांग्रेसले भंगेरा मार्नलाई तोप लिएर आउँछ भनेर’, श्रेष्ठले भने, ‘नेपाली कांग्रेसले भंगेर मार्नलाई तोप लिएर आउँदैन । यो टन्टलापुर घाममा भंगेर त त्यसै फुतुक फुतुक झर्छ ।’

सभापति श्रेष्ठले भने, ‘तोप लिएर आयो भने खबरदार पूर्वप्रधानमन्त्रीज्यू तपाई शुद्धा हल्लिन आउँछ । त्यसै कारणले नेपाली कांग्रेसलाई तपाई च्यालेन्ज नदिनुस्, खबरदार छ तपाईलाई ।’

सभापति श्रेष्ठले ललितपुरका गल्लीहरूमा केपी ओलीले छ्याङ खाएर हिँडे जस्तो अहिले राज्य सञ्चालन गर्न सहज नरहेको बताए ।

उनले भने, ‘केही वर्ष अगाडि भूमिगतको कार्यकालमा नेकपा (एमाले)का कमरेड अध्यक्ष केपी ओली ललितपुरको गल्लीगल्लीमा छ्याङ खाँदै चुट्कीला दिँदै हिँड्नु हुन्थ्यो उहाँले । यो चुट्कीलाले अब काम लाग्ने छैन । धेरै चुट्कीला नदिनु होला । त्यस्ता चुट्कीला दिन त नेपाली कांग्रेसका तल्लो तहको सदस्यदेखि लिएर तमाम कार्यकर्ताहरू छन् ।’

‘तपाईले त्यो छ्याङ पसलमा बसेर बोलेको जस्तो यो राज्य सञ्चालन अगाडि बढाउन सक्नु हुन्न’, उनले भने ।

ललितपुर कांग्रेसका सभापति श्रेष्ठले गृहमन्त्री रवि लामिछानेलाई रुखको टुप्पामा बसेर चराले बिष्ट्याएको बिष्टा मात्रै भएको बताएका छन् । रुख हल्लिँदा चराको बिष्टा पनि आफै रुखबाट तल खसे जस्तै कुनै पनि बेला लामिछाने पनि खस्ने श्रेष्ठले चेतावनी दिए ।

उनले भने, ‘विशेष गरेर अहिलेका गृहमन्त्री नाथे । नाथे भन्ने शब्द प्रयोग गरेँ । कारण छ यो पनि । उहाँले रोस्ट्रममा बसेर नेपाली कांग्रेस देश बेचुवा देश बेचुवा भन्ने शब्द निकाल्नुभयो । हो त्यही कारणले नाथे भन्न चाहन्छु । तपाइ नाथेले नेपाली कांग्रेसलाई एकइन्च हल्लाउन पनि सक्दैन ।’

‘नेपाली कांग्रेसको रुख हो । नेपाली कांग्रेसको रुखको टुप्पोमा तपाईलाई थाहा छ कि छैन साथीहरू चराचुरुङ्गी भंगेराहरूले हगेर अङजेरो बन्छ, तपाई त्यही हो । कसैले रुखलाई हल्लाउँदा त्यो फुत्त खस्छ । त्यसै कारणले गृहमन्त्री तपाई छिटो सच्चिने कि सिद्धिने ?’, उनले भने ।

‘कांग्रेसले सदन र सडकमा उठाइरहेको संसदीय छानविन समिति गठन गर्न माग गर्दछु । यो आन्दोलनलाई सहज रुपमा लिनुभएन भने यसले ठूलो रुप लिनेछ’, सभापति श्रेष्ठले भने ।

उनले भने, ‘सहकारीपीडितको पक्षमा न्यायोचित निर्णय नहुँदासम्म आन्दोलन निरन्तर चलिरहनेछ ।’

Published : Sunday, 2024 May 26, 7:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया