कान्तिपुर पल्टाएर हेर्नस्, बढी लखेटिनेमा म १ नम्बरमा छु, मिडिया कन्ट्रोल गर्नु हुँदैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कान्तिपुर दैनिकले सबैभन्दा धेरै आलोचना आफ्नो गरेको बताएका छन् ।

आइतबार बुढानिलकण्ठस्थित निवासमा आफूलाई भेट्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटका क्रममा देउवाले कान्तिपुरलाई पल्टाएर हेर्न आग्रह गरे । उनले आजसम्मको कान्तिपुर पल्टाएर हेर्ने होभने सबैभन्दा बढी आफूलाई गाली गरिएको बताए । कान्तिपुरले लेख्यो भन्दैमा प्रतिशोध राख्न नहुने सभापति देउवाले बताएको महामन्त्री गगन थापाले बताएका छन् ।

सभापति देउवा र प्रधानमन्त्री दाहालबीच भएको भेटवार्ताको भनाइ उदृत गर्दै थापाले भने, ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्तीको दिन प्रधानमन्त्रीलाई भनेको म सम्झन्छु, स्थापना भएदेखि आजसम्मको कान्तिपुर तपाईं पल्टाएर हेर्नस्, कान्तिपुरले आजसम्म सबैभन्दा बढी गाली गरिएको, सबैभन्दा बढी आलोचना गरिएको र सबैभन्दा बढी लखटिएकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला ।’

सभापति देउवाले प्रधानमन्त्री दाहाललाई भने, ‘म लखेटिएको र गाली खाएको छु । तर, म र मेरो पार्टीको कुरा छ, त्यो ठीक वा गलत के थियो ? आफ्नो ठाउँमा जवाफ दिउँला ।’

‘तर, यसको आधारमा, मेराबारेमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोल गर्न थालियो भने कहाँ पुग्छ, यो गलत हो’, सभापति देउवाले भनेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकताबारे पक्राउ परेका प्रसङ्गमा सभापति देउवाले प्रधानमन्त्री दाहालसँग समाचार लेखेकै भरमा मिडियालाई प्रतिशोध राख्न नहुने बताएका हुन् ।

नेपाल प्रेस युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले निरंकुशताउन्मुख रबैया देखाउन खोजेको बताए । अहिलेको गठबन्धन अनुदारवादी रहेको आरोप थापाले बताएका छन् ।

‘बोल्ने बेला आयो, हामी आज प्रदर्शन गर्दैछौं’, महामन्त्री थापाले भने, ‘सरकार निरंकुशताउन्मुख छ ।’

सहकारीको झण्डै १ अर्ब रुपियाँ रकम अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ । समितिको माग गरेर कांग्रेसले सदन अबरोध गरिरहेको छ । कांग्रेसलाई पेलेर सत्तापक्ष र सभामुख देवराज घिमिरेले सदन चलाइरहेका छन् ।

Published : Sunday, 2024 May 26, 3:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया