ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सहकारी ठग रवि लामिछाने र गीता बस्नेतलाई किन फरक फरक कानून ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी राप्रपाकी सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको तर, रास्वाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमै रहन मिल्छ ? भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा शाहीले सहकारी ठगीमा राप्रपा सांसद बस्नेत र गृहमन्त्री लामिछानेलाई फरक–फरक व्यवहार भइरहेको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘यो संसदमा दुई वटा कानून छ कि एउटा कानून ? गीता बस्नेत न सहकारी सदस्य, न त्यो कुनै पैसा लिने कुरामा सिग्नेचर गर्नुभएको छ । उहाँका ज्वाइँले पैसा लिनुहुन्छ, कृष्णसार रेस्टुरेन्टमा लगानी गर्नुहुन्छ । संसद्को सदस्य गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी हुन्छ तर त्यस्तै गरी गोर्खा मिडियामा पैसा आउँछ तर गृहमन्त्री पदमै बस्नुहुन्छ, छानबिन पनि गर्न नहुने ।’

सहकारीको रकम अपचलनमा राप्रपाकी सांसद बस्नेतलाई कारबाही हुनुपर्ने तर त्यसरी नै रकम अपचलन गर्ने लामिछानेविरुद्ध पनि छानबिन हुनुपर्ने शाहले बताए ।

राप्रपाका प्रमुख सचेतक शाहीले भने, ‘गीता बस्नेतलाई पनि कारबाही हुनुपर्छ । त्यस्तै प्रवृत्ति अरुले गर्ने हो भने ती सबै सांसद हुन् वा प्रधानमन्त्री हुन् सबलाई कारबाही गर्नुपर्छ ।’

सहकारी पीडितहरूको सडकमा बास भएको बताउँदै राप्रपाका प्रमुख सचेतक शाहीले मकै पोलेको, सागको मुठा बोकेको पैसा बचत गरेको तर त्यसको अपचलन भएको बताए ।

उनले गृहमन्त्रीलाई भने, ‘मुटु छ कि छैन ? डराएको हो खुट्टा कमाएको हो ? छानबिन समिति आवश्यक देखिन्छ ।’

राप्रपाका प्रमुख सचेतक शाहीले लामिछाने प्रतिपक्षमा रहेका बेला सुन प्रकरणमा संसदीय छानविन समिति बनाउन गरेको माग र संसद अबरोधको स्मरण गराएका थिए । शाहीको कुरा सुनेर बसेका गृहमन्त्री लामिछाने मुसुमुसु हाँसेका थिए ।

Published : Sunday, 2024 May 26, 1:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया