महानिर्देशकको सम्पत्ति खोज्दै अख्तियार, फाइल १५ करोडमा मिलाए भने पनि सुक्ष्म अनुसन्धान जारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेलसहितका हाइप्रोफाइल व्यक्तिहरूमाथि भ्रष्टाचारको मुद्दा दायर गरिरहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तर्सिएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र घोटालामा पटक पटक अख्तियार पुगेर बयान दिएका महानिर्देशक अधिकारीले विशेष अदालतमा मुद्दा खेप्नु पर्छ कि भनेर तर्सिएको प्राधिकरणभित्र चर्चा छ । अख्तियारले महानिर्देशक अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोप पत्र दायर गर्‍यो भने निलम्बनमा पर्नेछन् ।

त्यसपछि उनको अवस्था निकै नाजुक हुनेछ । जति नै शक्तिशाली भए पनि समय परिवेशले अधिकारीलाई किनारामा पुर्‍याउन खोजी रहेको छ । उनले समयमा यो कुरा राम्रोसँग बुझ्न जरुरी छ । सुध्रिदा नै महानिर्देशक अधिकारीको भविष्य छ । महानिर्देशक अधिकारीले सबैभन्दा पहिला आफ्नो अभिव्यक्तिमा लगाम लगाउनुपर्छ । जथाभावी बोलेर कर्मचारीलाई गालीगलौज गर्ने कार्य रोक्नुपर्ने प्राधिकरणका कर्मचारीहरूले गुनासो गरेका छन् ।

हाइप्रोफाइल र ठूला तथ्याङ्कका भ्रष्टाचार काण्डहरूमा अख्तियारले आरोप पत्र दायर गरेर हदैसम्मको कारबाहीमा लागिरहेको छ । हाइप्रोफाइल र ठूला तथ्याङ्कका भ्रष्टाचारीहरूलाई विशेष अदालतले दोषी पनि ठहर गरिरहेको छ । विशेष अदालतका फैसलाबाट महानिर्देशक अधिकारी डराएको प्राधिकरणका एक कर्मचारीले बताएका छन् ।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कीमा पावर सिस्टम खरिद प्रकरणमा ६९ करोड ८ लाख ८१ हजार ८ सय ५४ रुपियाँ ७० पैसा भ्रष्टाचार गरेको अभियोग लागेको छ । विकल र उनको समूहले विदेशमा खाता खोलेर भ्रष्टाचार गरेर कमाइ गरेको कमिशन विदेशी खातामा राख्ने गरेका थिए ।

प्राधिकरणका महानिर्देशक अधिकारीको पनि ठ्याक्कै विकलको जस्तै गतिविधि देखिएको भन्दै अख्तियारमा चर्चा हुने गरेको बुझिएको छ । अख्तियारले महानिर्देशक अधिकारीको गतिविधिमाथि कडा निगरानी राखेको अख्तियार निकट उच्च स्रोतले जनाएको छ ।

महानिर्देशक अधिकारीको पनि विदेशको बैंकमा खाता रहेको हुन सक्ने भन्दै सो विषयमा अनुसन्धान भइरहेको अख्तियार स्रोतले दाबी गरेको छ ।

महानिर्देशक अधिकारीसँग प्रेम ढकालको पनि नाम जोडिएको छ । अख्तियारमा प्रेम ढकालका बारेमा पनि सुक्ष्म ढङ्गले अनुसन्धान भइरहेको बुझिएको छ ।

अख्तियारको टोलीले महानिर्देशक अधिकारीको घर, जग्गा र सम्पत्ति तथा सम्भावित व्यक्तिको नाममा सम्पत्ति लुकाएको हुन सक्ने भनेर पनि अनुसन्धान भइरहेको अख्तियार स्रोतले बतायो ।

ललितपुरको बालकुमारी र चितवनमा महानिर्देशक अधिकारीको जग्गा तथा सम्पत्तिको खोजविन भइरहेको छ । अख्तियारमा अधिकारीविरुद्ध परेका थुप्रै उजुरीहरूमा यस्ता कुराहरू रहेका छन् ।

‘अख्तियारको मधिसेलाई १५ करोड बुझाएर फाइल मिलाए’ भनेर महानिर्देशक अधिकारीले प्राधिकरणभित्र बताउने गरेको चर्चा छ । प्राधिकरणको प्राधिविक विषय हेर्ने एक जना ईन्जिनियर अख्तिारमा छन् । उनै ईन्जिनियरलाई (मधिसेको आरोप) १५ करोड बुझाएर फाइल मिलाएको अधिकारीले बताउने गरेका हुन् ।

अख्तियारका प्रमुख आयुक्त प्रेम राईलाई एमालेको साइनो लगाएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट क्लिन चिट लिन्छु भन्ने गरेका छन् । महानिर्देशक अधिकारीलाई प्रमुख आयुक्त राईले सहज उन्मुक्ति दिने अवस्था देखिदैन । प्रमुख आयुक्त राईको इतिहाँस महानिर्देशक अधिकारीले हल्का रुपमा सोँच जस्तो छैन । राई विवादरहित निष्पक्ष र निष्कलंक व्यक्ति हुन् । प्रमुख आयुक्त राईका बारेमा महानिर्देशक अधिकारीले राम्रोसँग बुझेका छैनन् वा बुझेर पनि बुझपचाउन खोजेका छन् भने यो अधिकारीका लागि निकै ठूलो भुल हुनेछ ।

अख्तियारमा बयान दिएर बेहालको अवस्थामा पुगेका महानिर्देशक अधिकारी अहिले पनि सुध्रिने कुरै गर्दैनन् । उनले आन्तरिक विमानस्थलहरूबाट आफ्नो भाग लिन भन्दै तारान्तार फोन गरेर धम्काउने गरेको आरोप छ ।

नयाँ बजेटमा भरतपुर विमानस्थलका लागि बजेट राख्न लगाएर भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र गृहमन्त्री रवि लामिछानेसँग महानिर्देशक अधिकारी निकट हुन खोजेका छन् । अधिकारीको अर्को नजर विराटनगर विमानस्थलमा पनि छ ।

गृहमन्त्री लामिछाने सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका बेला महानिर्देशक अधिकारी गृहमन्त्री लामिछानेसँग घनिष्ठ सम्बन्ध बनाउन खोजेका छन् । लामिछाने र रेनुले नै आफूलाई पार लगाउन सक्ने अधिकारीको बुझाइ छ ।

अख्तियारले महानिर्देशक अधिकारीका बारेमा परेका उजुरी र फाइलहरूका बारेमा अनुसन्धान भइरहेकाले त्यसबारेमा केही भन्न नमिल्ने जनाएको छ । यो विषयमा छिट्टै आयोगले एउटा निर्णय लिने तयारी गरेको छ ।

Published : Sunday, 2024 May 26, 9:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया