बालेनले पठाए भौतिकमन्त्री महासेठलाई एक टिपर धुलो उपहार, सरकारलाई सबक सिकाए

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले कलंकीदेखि महाराजगञ्जसम्म चक्रपथको सडक समयमा बनाउन दवाव दिनभन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई टिपरमा धुलो उपहार पठाएका छन् ।

शनिबार मेयर बालेनले मन्त्री महासेठलाई उपहार भनेर टिपरमा धुलो पठाएर मीनभवनस्थित सडक डिभिजन काठमाडौंको मूल गेटमा खसाली दिएका छन् ।

बालेनले भनेका छन्, ‘माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला ।’

एमालेबाट मन्त्री बनेका महासेठले काम गर्नेभन्दा पनि गफ लगाउने गरेको भन्दै आलोचना भइरहेका बेला बालेनले सबक सिकाएका छन् ।

‘विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ’, बालेनले भने, ‘काठमाडौंमा हुने आधाभन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ ।’

‘त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ’, मेयर बालेनले भने ।

‘काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ’, उनले भने, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन ।’

‘जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउनेछु । माया सम्झेर स्वीकार्नु होला’, मेयर बालेनले भनेका छन् ।

काठमाडौं मात्रै होइन देशका अन्य स्थानमा पनि सडक बनाउने र मर्मत गर्ने बहानामा भत्काएर वर्षौंदेखि काम नगरेर लथालिङ्ग अवस्थामा छाडिएका छन् । त्यसले गर्दा दुर्घटना हुने, ज्यान जाने, स्वास्थ्यमा समस्या हुने गरेका छन् ।

Published : Saturday, 2024 May 25, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया