सहकारी ठग र गिरिबन्धु टि इस्टेट जग्गा घोटालाविरुद्ध गोंगबुमा पनि तरुणको राँके जुलुस प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसले खुला सभा गर्नुभन्दा करीव २० घण्टा पहिला नेपाल तरुण दलले काठमाडौंको गोंगबु चोकमा राँके जुलुस प्रदर्शन गरेर शक्ति देखाएको छ ।

शनिबार साँझ तरुण दलका नेता कार्यकर्ताले गोंगाबु चोकमा राँके जुलुस प्रदर्शन गरेर सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गरेका हुन् ।

उनीहरूले संसदीय छानविन समिति बनाइ लामिछानेमाथि अनुसन्धान गर्न माग गरेको तरुण दलका केन्द्रीय सदस्य निरञ्जन थापाले बताएका छन् ।

तरुणहरूले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई बोल्न समय नदिएर देखाएको अधिनायकवादको पनि विरोध गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले गिरिबन्धु टि इस्टेटको जग्गा घोटाला गरेको पुष्टि भएको भन्दै अनुसन्धान गरेर हदैसम्मको कारबाही गर्न तरुणहरूले माग गरेका छन् ।

उनीहरूले ओलीको अरु भ्रष्टाचारको काण्डहरूको फाइल पनि खोल्न माग गरेका छन् ।

राँके जुलुस प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य थापाले सहकारीको करोडौं रकम ठगी गर्ने गृहमन्त्री रवि लामिछाने र गिरिबन्धु टि इस्टेटको जग्गा घोटालाको नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीमाथि अनुसन्धान गरेर कारबाहीको माग गरेका छन् ।

थापाले भने, ‘भ्रष्टाचार गर्ने सत्तापक्ष होस् वा प्रतिपक्ष जो भए पनि कारबाही हुनुपर्छ । समाजमा गलत काम गर्ने फटाहहरू मुख थुनेर लुकेर हिड्नेगर्थे तर, आज चर्काे स्वरमा टाईसुट लगाएर भगवानको रुपमा समाजमा ठगीको धन्दा गर्ने गिरोह नै हावी भएका छन् ।’

सहकारी ठगका आरोपी गृहमन्त्री रवि लामिछानेको नै दोहोरो नागरिकता र पासपोर्ट रहेको भन्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सहकारी प्रकरणमा सप्रमाण समाचार प्रकाशित गरेको प्रतिशोध साँध्न पक्राउ गरिएको बताए ।

राँके जुलुस प्रदर्शनमा तरुण दलका केन्द्रीय सदस्यहरू भागवत रेग्मी, प्रदीप थापा, सुमन गिरी, पुष्कर बास्तोला, पशुपति पोखरेल, उमेश श्रेष्ठ, सेतेमान तामाङ, नेपाली कांग्रेसका महासमिति सदस्य सुशील भट्ट, सानुकाजी प्रजापति, नेबिसंघका केन्द्रीय सदस्य विजय ढुङ्गालगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2024 May 25, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया