कांग्रेसको सभा हुनुभन्दा २४ घण्टा अगाडि तरुणद्वारा शक्ति प्रदर्शन, गृहमन्त्री र सभामुखको शव बोकेर राँके जुलुस प्रदर्शन

काठमाडौं । सहकारी ठगका आरोपी गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समितिको मागसहित नेपाल तरुण दलले राँके जुलुस प्रदर्शन गरेको छ ।

तरुण दलले शनिबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा राँके जुलुस प्रदर्शन गरेको हो । प्रदर्शनमा तरुण दलका अध्यक्ष विद्वान गुरुङ पनि सहभागी भएका छन् । राँके जुलुस प्रदर्शनका साथै तरुणहरूले सहकारीको करोडौं रकम ठगीको अभियोग लागेका गृहमन्त्री लामिछाने र संसदमा अधिनायकवादी गतिविधि गरेका सभामुख घिमिरेको शव बनाएर बोक्नुका साथै पुत्ला जलाएका छन् । तरुण दलले गृहमन्त्री लामिछाने र सभामुख घिमिरेको तस्वीर राखेर सोलामा प्रतीकात्मक रुपमा शव बनाएर बोकेका थिए ।

तरुण दलका नेता कार्यकर्ताले गृहमन्त्री लामिछाने र सभामुख घिमिरेको तस्बिरलाई सोला राखेर बोकेका छन् । सभामुख घिमिरेले एमालेका अध्यक्ष केपी ओलीको निर्देशन र खटनपटनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई संसदमा बोल्न समय नदिने, पेलेर संसद बैठक चलाउने लगायतका गतिविधि गरेको भन्दै विरोधमा तरुण दलले सभामुख घिमिरेको पुत्ला जलाएको छ ।

गिरिबन्धु टि इस्टेटको जग्गा घोटाला प्रकरणको अनुसन्धान गरेर तत्कालीन प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीलाई कारबाही गर्न तरुणहरूले माग गरेका छन् । ओली प्रधानमन्त्री भएका बेला गिरिबन्धु टि स्टेटको जग्गा घोटाला भएको थियो । ओलीले गिरिबन्धु टि स्टेटको जग्गा प्लटिङ गरेर बिक्री गर्न भूमाफियालाई सट्टापट्टाको अनुमति दिएका थिए । केही दिन अगाडि सर्वोच्च अदालतले ओलीको त्यो निर्णयालाई खारेज गरिदिएको छ ।

कांग्रेसले भोलि आइबार प्रदर्शनमार्गस्थित भृकुटीमण्डपमा खुला सभा गर्न लागेको छ । सभा गर्नुभन्दा केही घण्टा अगाडि तरुण दलले प्रदर्शनीमार्गमा राँके जुलुस प्रदर्शन गर्नुका साथै लामिछाने र सभामुख घिमिरेको पुत्ला जलाएर आक्रोश पोखेको छ ।

तरुण दलको राँके जुलुसलाई ध्यानमा राखेर उल्लेख्य संख्यामा प्रदर्शनीमार्गमा सुरक्षाकर्मी परिचालन भएका थिए । तरुण दलसँग केही राँके जुलुस खोसेर प्रहरीले निभाएको छ । प्रहरीले गृहमन्त्री लामिछाने र सभामुख घिमिरेको पुत्लालाई पनि खोस्ने प्रयास गरेको छ ।

तरुणहरूले गृहमन्त्री लामिछाने, सभामुख घिमिरेका साथै सरकारविरुद्ध नारावाजी लगाएका छन् । उनीहरू सहकारी ठगलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

तरुण दलले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दैनिक रुपमा बेलुका गृहमन्त्री लामिछानेविरुद्ध राँके जुलुस प्रदर्शन गर्दै आएको छ ।

नेपाली कांग्रेसले भोलि आइतबार जेठ १३ गते १ बजे प्रदर्शनीमागको भृकुटीमण्डपमा खुला सभा गर्न लागेको छ । सभाको तयारी गरिरहेका बेला तरुण दलले २४ घण्टा अगाडि प्रदर्शनीमार्गमा शक्ति देखाएको छ ।

Published : Saturday, 2024 May 25, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया