सहकारी ठग र गिरिबन्धु टि इस्टेट घोटालामा मुछिने डरले ओली-लामिछानेबीच सम्झौता : तरुण दल

धुलिखेल । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहकारीको झण्डै १ अर्ब रुपियाँ ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति गठनमा आलटाल गरेर सरकारले अराजकता निम्ताउन खोजेको बताएका छन् ।

शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा नेपाल तरुण दल धुलिखेल नगर कार्यसमिति विस्तार एवम् जलपान कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले संसदीय छानविन समितिका साथै लामिछानेले गृहमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए ।

सहकारी काण्डमा छानविन भएपछि लामिछाने निर्दोष भए पुनः गृहमन्त्री बन्न सक्ने तर, दोषी देखिए कारबाहीको भागिदार हुनुपर्ने अध्यक्ष गुरुङले बताए ।

बिहान बेलुकाको छाकटार्दै सहकारीमा जम्मा गरेको पैसाले जीवनयापन गरिरहेका स–साना व्यापारी, मजदुर, दैनिक ज्यालादारी व्यक्तिहरूलाई गृहमन्त्री लामिछानेले बिल्लिबाठ बनाएको गुरुङले बताए । सहकारी ठगलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीले संरक्षण गरेर राखेको बताए ।

अध्यक्ष गुरुङले सत्तारुढ दलहरूले देशलाई संकटतिर धकेल्न तल्लिन रहेको बताए । जनतालाई भ्रमित पार्न र आफूविरुद्ध भएको मुद्धालाई ढाकछोप गर्न नेपाली कांग्रेसका नेताहरूलाई विभिन्न लाञ्छना नलगाउन गृहमन्त्री लामिछानेलाई अध्यक्ष गुरुङले चेतावनी दिएका छन् ।

कांग्रेसका नेताहरू दोषी छन् भने छानविन गरेर कारबाही गर्न सुझाव दिँदै अध्यक्ष गुरुङले सहकारी ठगका आरोपी लामिछाने र गिरिबन्धु टि इस्टेटको जग्गा घोटालामा मुछिएका केपी ओलीका विषयमा अनुसन्धानको माग गर्दा कांग्रेसका नेताहरूमाथि लाञ्छना लगाउने कार्य रोक्न सचेत गराए ।

उनले कांग्रेसका नेताहरूमाथि देखिने प्रमाण भए कारवाही प्रक्रिया अघि बढाउन कुनै रोकतोक नभएको बताए । कांग्रेसका नेताहरूमाथि प्रतिशोध राखेर जथाभावी नबोल्न सचेत गराएका छन् ।

देशका विभिन्न सहकारीमा एमालेलेको नेताहरू रहेको र गिरिबन्धु टि इस्टेटको जग्गा घोटाला प्रकरणमा आफू मुछिने डरले एमालेका अध्यक्ष केपी ओली र रास्वपाका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेबीच अस्वभाविक सम्झौता भएको बताए ।

तरुण दलका अध्यक्ष गुरुङले एमालेका केही नेताहरूबाट महिला दिदीबहिनीहरू असुरक्षित रहेको बताएका छन् । एमाले नेताहरूबाट शोषित हुने महिलाहरूको उजुरी प्रहरीले दर्ता गर्न नमान्नु बिडम्बना भएको बताएका छन् ।

तरण दल धुलिखेल नगर कार्यसमितिका अध्यक्ष छिरिङ लामाको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति विस्तार भएको छ ।

Published : Saturday, 2024 May 25, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया