संसदमा सभामुख घिमिरेको निरंकुशता, कांग्रेसलाई बोल्न समय दिएनन्, ओलीको शैलीमा बैठकमै हप्काए

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आकस्मिक समय नदिएर पेलेरै संसदको बैठक चलाउने प्रयास गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदहरू उभिएर आकस्मिक समय माग गरेका थिए । सभामुख घिमिरेले कांग्रेसले समय माग गर्दा पनि बोल्न समय दिएनन् ।

यसअघि नेकपा (एमाले) प्रमुख प्रतिपक्षमा रहेका बेला सभामुख घिमिरेले एमालेलाई समय दिने गरेका थिए । एमालेले तत्कालीन समयमा सुनसम्बन्धी संसदीय छानविन समिति बनाउने क्रममा संसद अबरुद्ध गर्दा सभामुख घिमिरेले एमालेले समय माग गर्दा मनलाग्दी दिने गरेका थिए ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले बोल्न समय माग गर्दा घिमिरेले समय दिएनन् । सभामुख घिमिरेले प्रमुख प्रतिपक्ष दललाई बोल्न समय नदिएर संसदमा निष्पक्ष भूमिका निभाउन नसकेको सांसद रामहरि खतिवडाले बताएका छन् । खतिवडाले भने, ‘प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा बोल्ने समय माग गर्दा समय नदिनु भनेको विधि र विधान विपरित छ । संसद भनेको प्रतिपक्षको हो । प्रतिपक्षको अधिकार खोस्ने कार्य भएको छ । कांग्रेसलाई पेलेरै जाने प्रयास भएको छ ।’

प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई सभामुख घिमिरेले धम्की दिने प्रयास समेत गरेका छन् । उनले कांग्रेसलाई बोल्न समय नदिएपछि बैठकमा भनाभनको अवस्था समेत सिर्जना भएको छ । सभामुख घिमिरे एमालेका अध्यक्ष केपी ओली निकट मानिन्छन् । ओलीकै खटनपटनमा सभामुख घिमिरेले कांग्रेसलाई सदनमा पेलेरै लैजान खोजेको आरोप कांग्रेसका सांसदहरूको छ ।

सहकारीको करोडौं रुपियाँ अपचलन र ठगी गरेको अभियोग लागेका गृहमन्त्री रवि लामिछानेबारे छानविन समिति गठन गर्न मागसहित कांग्रेसले संसद अबरुद्ध गर्दै आएको छ । कांग्रेसले समिति गठन नहुँदासम्म सदन र सडक आन्दोलन गर्ने जनाइसकेको छ ।

कांग्रेसका सांसदहरूले संसदीय छानविन समिति र आकस्मिक समयमा बोल्न समय माग गरेर उभिएपछि बाध्य भएर सभामुख घिमिरेले संसदको बैठक जेठ १३ गते आइतबार ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।

Published : Friday, 2024 May 24, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया