गृहमन्त्रीविरुद्ध निरन्तर सप्रमाण समाचार छापेपछि प्रतिशोधमा सिरोहियालाई पक्राउ : माओवादी नेता किराँती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वमन्त्री सुदन किराँतीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको नैतिकता, आचरण र विवादित छवि रहेको बताएका छन् ।

बुधबार राति टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा नेता किराँतीले गृहमन्त्री लामिछानेले प्रतिशोधमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको बताए । गृहमन्त्री लामिछानेकै छविमाथि प्रश्न उठिरहेको र सहकारी ठगीबारे सप्रमाणसहित समाचार आइरहेका बेला सिरोहियालाई पक्राउ गर्नु आशंकाको सुविधा रहेको उनले बताए ।

नेता किराँतीले भने, ‘अहिलेको उपप्रधानमन्त्री तथा गृहमन्त्री स्वच्छ, कञ्चनछविको भएको भएदेखि यति धेरै, यो हदसम्म अधिनायकवादको लेबल लाग्ने थिएन । जहाँ स्वयम् उहाँ निर्विवादित हुन सक्नु भएन । इतिहाँसले देखिने ।’

‘अर्थात् उहाँ राजनीतिक जीवन जब प्रवेश गर्‍यो रिङभित्र तब उहाँको छवि सफा हुन सकेन । त्यसका कारणले पनि यो बढि हाइलाइट भयो’, माओवादी नेता किराँतीले भने ।

‘अहिले पनि कान्तिपुर पत्रिकामार्फत श्रङ्खलाबद्ध गृहमन्त्रीको सहकारीसँग सम्बन्धित विषय उठाइदिइ सकेपछि यहि बेला हुँदा बढि वातावरण बिग्रिदै गए जस्तो हो’, किराँतीले भने ।

‘देशको सबैभन्दा ठूलो पदको मान्छे पनि कानूनमुनि रहनुपर्छ । र, गृहमन्त्री पनि कानूनमुनि हुनुपर्छ । नागरिकहरू पनि । कान्तिपुर मिडिया ग्रुपको अध्यक्ष दोषी हुनुहुन्छ भने कारबाहीको दायरामा त आउनै पर्छ’, उनले भने ।

‘यहि बेलामा त्यत्तिको व्यक्तित्वलाई यो रुपमा स्थापित भएको व्यक्तिलाई त्यो तहसम्म सरकारको तर्फबाट त्यो शैली प्रयोग गर्नु हुँदैन थियो भन्ने हामीलाई लागेको छ’, उनले भने ।

‘प्रतिशोध त नेपालको संस्कृति हो । यहाँ ठूलोभन्दा ठूलो मान्छेले सानाभन्दा सानालाई प्रतिशोध साध्छ’, उनले भने ।

‘यसको थुप्रै दृष्टान्तहरू हामी देख्न सक्छौँ । नेपालको संस्कृति नै प्रतिशोधपूर्ण छ । समाचार लेखेकै भरमा गिरफ्तार गर्न मिल्दैन’, उनले भने, ‘आफ्नोविरुद्ध समाचार लेखेकै भरमा यहि बेला प्रतिशोध साधेको हो भने गलत हो ।’

‘कान्तिपुर मिडियाको अध्यक्षलाई लागेको आरोप यदि सत्य हो भने उहाँले पनि नेपालको कानून बमोजिम त सजायको दायरामा आउनै पर्छ । त्यसमा कुनै दुई मत छैन’, नेता किराँतीले भने ।

‘सिरोहियालाई पक्राउ गर्ने शैली अहिलेको लागि ठीक भएन । एकातिर परिस्थिति र परिवेश पनि त्यसरी बनेर आएको, गृहमन्त्री तथा उपप्रधानमन्त्रीको श्रीङ्खलाबद्ध समाचार सप्रमाण निकालिरहेको, यहिबेला नै त्यसरी गर्दा, त्यो पनि वैशाखमा मुद्दा दायर भएको, यहिबेला आएर त्यसरो गर्दा स्याल कराउनु र सिङ्गारी हराउनुको संयोग मात्रै हो कि भन्ने शंकाको प्रसस्त सुविधा चाहिँ दिएको छ’, नेता किराँतीले भने ।

Published : Thursday, 2024 May 23, 9:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया