कार्यपालिका कब्जा, व्यवस्थापिका बन्धक त भएकै थिए, अब चौथो अङ्गमाथि आक्रमण : कञ्चन झा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कञ्चन झाले प्रधानमन्त्री र गृहमन्त्रीद्वारा कार्यपालिका कब्जा र व्यवस्थापिक बन्धक गरेपछि चौथो अङ्गमाथि आक्रमण गरेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत नेता झाले दोहोरो नागरिकता र राहदानी हुँदा पनि कसैलाई कारबाही नगर्ने र कसैलाई थरको आधारमा कारबाही गर्ने परम्पराको अन्त्य हुन माग गरेका छन् । उनले जात र थरलाई हेरेर राष्ट्रवादी हुने परम्परा रहेको भन्दै चिन्ता जनाएका छन् ।

उनले भने, ‘जे होस्, सत्ता स्वेच्छाचारी र सर्वसत्तावादी हुँदै आफैं पतनको बाटोमा हिंडे जस्तो भान हुन थालेको छ ।’

‘कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा भनेको सायद यस्तै होला कि !’, पूर्वसञ्चारकर्मी समेत रहेका कांग्रेस नेता झाले भनेका छन् ।

उनले भने, ‘कार्यपालिका कब्जा, व्यवस्थापिका बन्धक त भएकै थिए, अब चौथो अङ्गमाथि आक्रमण ! न्यायालयप्रतिको नियत पनि छिपेको छैन ।’

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगको ओज र पक्राउको प्राथमिकता तौलदा प्रथम दृष्टिमै प्रतिशोध प्रष्टिन्छ’, युवा नेता झाले भने ।

‘सतहमा देखाइएको नागरिकताको विषय विल्कुल बहाना हो, यो खासमा गृहमन्त्रीविरूद्ध जारी समाचार रोक्ने सत्ताको चाहना हो’, उनले भने ।

‘कामना गरौं, थर हेरेर थर्काइएको चाहिँ नहोस्’, झाले भने, ‘किनकी यहाँ त थर हेरेर नक्कली/सक्कली छुट्ट्याउने ‘नेपाली’ नजरिया जो छ ।’

नेता झाले प्रश्न गर्दै भने, ‘दोहोरो पासपोर्ट भए पनि, नागरिकता नै नभए पनि राष्ट्रवादी दह्रिनेमा परेनन् क्यारे कैलाश !?’

Published : Wednesday, 2024 May 22, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया