कांग्रेस नेतृ चौधरीद्वारा सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चन्दा चौधरीले गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएकी छन् ।

बुधबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा सांसद समेत रहेकी नेतृ चौधरीले सहकारीको रकम हिनामिना प्रकरणमा संलग्न रहेका गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘हामीले पहिले पनि उहाँले राजीनामा गरेर निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्छ भनिरहेका छौं । पार्टीले पनि त्यो निर्णय गर्ला ।’

संसदको प्रमुख प्रतिपक्षी दलले लाखौं सहकारी पीडितको न्याय माग्दा सरकारले अधिनायकवादी चरित्र देखाएको आरोप नेतृ चौधरीले लगाएकी छिन् ।

उनले संसदमा प्रमुख प्रतिपक्षी दललाई पेलेर लैजाने सत्तापक्ष र सभामुखको भूमिकाप्रति प्रश्न गरेकी छिन् ।

‘सत्तापक्षले पेलेर लैजाने त कुरा छँदैछ । सभामुखज्यूले पनि आफ्नो पदीय भूमिका निर्वाह गरिरहनुभएको छैन’, उनले भनिन् ।

‘यतिबेला हामी स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई स्मरण गरिरहेका छौं, जसले संसदमा यस्तो भूमिका कहिल्यै निभाउनुभएन’, सांसद चौधरीले भनिन् ।

उनले संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले निरन्तर संसद अवरुद्ध पार्ने बताइन् । ‘आगामी संसद बैठक पनि अवरुद्ध गर्छौं’, चौधरीले भनिन्, ‘सायद सत्तापक्षले अस्तीजसरी नै कांग्रेसलाई घेरेर संसद सञ्चालन गर्नेछ ।’

Published : Wednesday, 2024 May 22, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया