सहकारीको ९५ करोड ८१ लाख अपचलन गर्ने लामछाने र राईलाई कांग्रेसद्वारा दफा १२४ बमोजिम कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको सहकारी विभागले गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सहकारीको रकम गैह्र कानूनी रुपमा गएको देखिएको भन्दै अध्यक्ष गितेन्द्रबाबुर राई (जीवी) र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कारबाहीको माग गरेको छ ।

बुधबार कांग्रेसका केन्द्रीय सदस्य एवम् विभागका प्रमुखका प्रमुख देवेन्द्रराज कँडेलले विज्ञप्ति जारी गरेर चार वटा सहकारीबाट गैह्र कानूनी रुपबाट गोरखा मिडियामा ९५ करोड ८१ लाख रुपियाँ गएको जनाएका छन् ।

गृहमन्त्री समेत रहेका गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र अध्यक्ष राईलाई सहकारी ऐनको दफा १२४ बमोजिम दण्ड, जरिवाना र सजाय हुनु पर्ने माग कँडेलले गरेका छन् ।

सुप्रिम सहकारी बुटवल, सूर्यदर्शन सहकारी पोखरा, स्वर्णलक्ष्मी सहकारी काठमाडौं र साहारा सहकारी चितवनबाट गोरखा मिडियामा राई र लामिछानेले ग्रह्रकानूनी रुपबाट ९५ करोड ८१ लाख रुपियाँ लगेको प्रमाणहरू बाहिर आएको विभागका प्रमुख कँडेलले जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सहकारी संस्थामा प्राकृतिक व्यक्तिमात्र सदस्य हुन पाउने र वित्तीय कारोबार गर्ने सहकारी संस्थाले आफ्ना सदस्यहरूबीच मात्रै ऋण लगानी गर्न मिल्ने कानूनी व्यवस्था विपरित गोरखा मिडिया नेटवर्क प्रा.लि.मा उपरोक्त सहकारीहरूमा सर्वसाधारण जनताले जम्मा गरेको रकमको ठूलो हिस्सा अपचलन भएको रकम तत्काल फिर्ता गर्ने, सहकारीको बचत अपचलन गर्ने सहकारीका सञ्चालक, कार्यकारी प्रमुख साथै गोरखा मिडिया नेटवर्क प्रा.लि.का सञ्चालक एवम् कार्यकारी प्रमुखलाई कानून बमोजिम तत्काल कारबाही गरी सहकारी ऐनको दफा १२४ बमोजिम दण्ड, जरिवाना र सजाय हुनु पर्दछ र सरकारले जनतामा कानूनी राज्यको अनुभूति दिलाउनु पर्दछ ।’

विभागका प्रमुख कँडेलले सहकारीको रकम अपचलन गरेको गोरखा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन कार्यकारी प्रमुख हालका बहालवाला गृहमन्त्री रवि लामिछाने संलग्न देखिएको समाचार प्रकाशन गरेको प्रतिशोधमा सरकारले कान्तिपुर मिडिया ग्रुपमाथि गरेको हस्तक्षेप निन्दनीय रहेको जनाएका छन् ।

उनले भने, ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता विवाद निरुपणका विकल्प हुँदा हुँदै आतंककारी शैलीमा गिरफ्तार गर्नु लोकतान्त्रिक व्यवस्थाप्रतिको आक्रोश भएको हामीलाई लागेको छ ।’

Published : Wednesday, 2024 May 22, 6:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया