लुम्बिनी कांग्रेसको सभापतिमा श्रेष्ठ, खनाल र भण्डारीद्वारा तयारीको चर्चा

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको भावी सभापतिका लागि आकांक्षी देखिएको चर्चा छ ।

१५औँ महाधिवेशन आउने अझै दुई वर्ष बाँकी रहेका बेला लुम्बिनी कांग्रेसमा भावी सभापतिका विषयमा चर्चा हुन थालेको हो ।

सभापतिका लागि विशेष गरेर महामन्त्री गगन थापा र केन्द्रीय सदस्य शेखर कोइराला समूहबाट ३ नेताहरू चर्चामा छन् ।

बिक्रम खनाल, भुवन श्रेष्ठ र मोतीलाल भण्डारी देखिएका छन् । उनीहरू तीन जनाले आफूलाई महामन्त्री गगन थापा र नेता शेखर कोइराला निकट बताउने गरेका छन् ।

भुवनप्रसाद श्रेष्ठ लुम्बिनी कांग्रेसमा हाल उपसभापति छन् । बिक्रम खनाल महामन्त्री र मोतीलाल भण्डारी लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य हुन् ।

यी तीन नेताले सभापतिका लागि अहिले देखिनै गतिविधि शुरु गरिरहेका छन् । उनीहरूले जिल्ला भ्रमण गर्ने, भेटघाट र गुटका बैठकहरू गरिरहेको चर्चा छ ।

लुम्बिनी प्रदेशमा उनीहरू शेखर कोइराला निकटका मानिन्छन् । केन्द्रमा भने उनीहरू विभिन्न नेताहरूसँग जोडिएको चर्चा छ ।

श्रेष्ठले नेता प्रकाशमान सिंहलाई छाडेर अमरसिंह पुनतिर लागेका छन् । गुल्मी कांग्रेसका पूर्वसभापति श्रेष्ठ मेयरमा पराजित भएका थिए । श्रेष्ठले सभापति पुनलाई साथमा लिएर जिल्ला दौडाहामा छन् ।

पूर्वसांसद खनाल लुम्बिनी कांग्रेसमा राम्रो पकड राख्छन् । गत निर्वाचनमा खनाललाई अन्तर्घातको आरोप लागेको छ । खनाल केन्द्रीय सदस्य देबेन्द्रराज कँडेलसँग मिल्दैनन् । खनाल र कँडेलबीच शीतयुद्ध छ । लुम्बिनी कांग्रेसको सभापतिको चाहना राख्ने हो भने खनालले कँडेलसँग राम्रो सम्बन्ध बनाउनै पर्छ । होइन भने भविष्यमा खनाललाई ठूला राजनैतिक चुनौतीको सामना गर्नुपर्छ ।

नेविसंघबाट पार्टीको राजनीतिमा भित्रिएका गुल्मीका मोतीलाल भण्डारी पनि सभापतिका आकांक्षी हुन् । भण्डारी महामन्त्री गगन थापा निकट मानिन्छन् । विगतमा कोइराला समूहबाटै भण्डारीले राजनीति गर्दै आएका थिए ।

तत्कालीन समयमा गगनले टिम परिवर्तन गर्दा समेत भण्डारीले समूह परिवर्तन गरेका थिएनन् । उनी कोइराला समूहमै रहेका थिए ।

भण्डारी युवा विद्यार्थीका बीच लोकप्रिय छवि बनाएका छन् । त्रिभुवन विश्वबिद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका भण्डारीले सभापतिमा तयारी सुरु गरिसकेका छन् ।

Published : Wednesday, 2024 May 22, 10:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया