अपराध ढाकछोप गर्न शक्तिको उन्मादमा धेरै पटक प्रयास भएका छन्, हेक्का रहोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वदनीयतपूर्ण ढङ्गले प्रतिशोध पूरा गर्न पक्राउ गरिएको बताएका छन् ।

मंगलबार राति एक्समार्फत थापाले भने, ‘म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनीयतपूर्ण ढङ्गले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्र हो ।’

उनले भने, ‘मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो ।’

‘आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन् – हेक्का रहोस्’, महामन्त्री थापाले चेतावनी शैलीमा भने ।

उनले भने, ‘प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुदैन । गल्ती गरेको छभने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ ।’

सहकारीको करोडौं रकम अपचलन र हिनामिनामा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे कान्तिपुर निरन्तर समाचार प्रकाशित गर्दै आएको थियो । यो कार्य लामिछानेलाई मन परेको थिएन । लामिछानेकै निर्देशनमा प्रतिशोधन लिन सिरोहियालाई पक्राउ गरिएको छ ।

Published : Tuesday, 2024 May 21, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया