सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेकी पत्नी निकिताको नाममा करोडौंको सम्पत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग अर्बौंको सम्पत्ति रहेको भेटिएको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार गृहमन्त्री लामिछाने र उनकी श्रीमती निकिता पौडेलको नाममा करोडौंको सम्पत्ति देखिएको हो ।

लामिछाने दम्पत्तिसँग चाबहिलमा २ रोपनी ९ आना जग्गा छ । गोपीकृष्ण मुभिजको नाममा रहेको १० रोपनी ८ आनामध्ये २५ प्रतिशत शेयर लामिछानेकी श्रीमती पौडेलको नाममा रहेको देखाइएको छ ।

बुढानीलकण्ठमा ५ आना जग्गा र भक्तपुरमा १ रोपनी १ आना जग्गा रहेको छ । बुढानीलकण्ठको जग्गा लामिछानेले ३ करोड ७५ लाख रुपियाँमा किनेका थिए ।

लामिछानेसँग अहिले ८० तोला सुन र १५ किलोभन्दा बढी चाँदी रहेको जनाइएको छ । सबै सम्पत्ति श्रीमती निकिताको रहेको लामिछानेले उल्लेख गरेका छन् ।

नगदतर्फ भने आफ्नो नाममा १ लाख १० हजार र करिब ५ लाख ६० हजार रुपियाँ रहेको सम्पत्ति विवरणमा देखिएको छ ।

गोपीकृष्ण मुभिजको नाममा ८ करोड ७५ लाख रुपियाँ रहेको र त्यसको २५ प्रतिशत हिस्सा निकिताको हुने लामिछानेले उल्लेख गरेका छन् ।

लामिछाने दम्पत्तिसँग ४२ लाख रुपियाँ मूल्य पर्ने टाटा कम्पनीको नेक्सन ईभी गाडी र गोपीकृष्ण मुभी र नारी टिभीको नाममा झण्डै ४ करोड रुपियाँको शेयर रहेको विवरणमा उल्लेख छ ।

गृहमन्त्री लमिछानेले अधिकांश सम्पत्तिको स्रोत भने श्रीमती निकिताको तर्फबाट आएको वा आफ्नो पैतृक सम्पत्तिमा देखाएका छन् । लामिछानेले अमेरिकामा बस्दा महिनाकै ४ करोड रुपियाँ कमाउने गरेको बताउँदै आएका थिए ।

ग्यालेक्सी फोरके टेलिभिजनमा हुँदासमेत महिनाको साढे ४ लाख रुपियाँ तलब लिने गरेका लामिछानेले अहिले आफूसँग जम्मा १ लाख १० हजार रुपियाँ मात्रै रहेको देखाएका छन् ।

सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका गृहमन्त्री लामिछानेसँग देखिएको अधिकांश सम्पत्ति पत्नी निकिता पौडेलको नाममा देखिएपछि विभिन्न अड्कलबाजी भइरहेका छन् । लामिछानेले किन पत्नीको नाममा यतिधेरै सम्पत्ति देखाए वा आफूसँग नभएर हो वा लुकाएका हुन् प्रश्न उठेको छ ।

Published : Tuesday, 2024 May 21, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया