मुस्लिम समुदायका बालबालिकालाई आधुनिक शिक्षा दिनुपर्छ : अध्यक्ष अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायको प्रतिनिधित्व गरी सदनमा पुग्नेहरूले आफ्नो समुदायको आवाज उठाउन नसक्नु पीडादायक रहेको बताएका छन् ।

सोमबार ललितपुरमा आयोजित मुस्लिम बालबालिका तथा युवाहरूको उत्थानको लागि इमामहरूको भूमिका अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले मुस्लिम समुदायको हकअधिकारको कुरा मुस्लिम सांसदहरूले संसदमा उठाउनुपर्ने बताए । उनले मुस्लिम समुदायका बालबालिकालाई आधुनिक शिक्षा दिनुपर्ने बताए ।

मुस्लिमहरूले पाएको अधिकारअनुसार नै सांसद बनेर मुस्लिम नेताहरू संसदमा पुगेको उनले बताए । उनले हरेक क्षेत्रमा मुस्लिमको उपस्थिति हुनुपर्ने मुस्लिम आयोगको माग रहेको बताएका छन् । अध्यक्ष अन्सारीले मुस्लिम समुदायको प्रतिनिधित्व हरेक ठाउँमा हुनुपर्ने आफूहरूको माग रहेको बताए ।

उनले मुस्लिम समुदायको हक, अधिकार, विकास र उत्थानका लागि आयोगले विभिन्न कामहरू गर्दै आएको बताएका छन् ।

आयोगले गरेका कामहरू हरेक वर्ष वार्षिक प्रतिवेदनमा राष्ट्रपति कार्यालयलाई बुझाउने गरेको र राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री हुँदै सदमा पुगेपछि मुस्लिम समुदायकै सांसदहरूले त्यसबारेमा आफ्ना आवाज उठाउने र छलफल गर्ने नगरेकोप्रति अन्सारीले असन्तुष्टि जनाएका छन् ।

उनले सदनमा प्रतिवेदनमाथि छलफल हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । मुस्लिम क्षेत्रबाट जाने प्रतिनिधिहरूले प्रतिवेदनमाथि संसदमा आवाज निकालेर छलफल गराउन नसक्नु समुदायको लागि धोका हुने बताए ।

उनले भने, ‘दुर्भाग्यवश सदनमा पुग्दा त्यो विषयमा छलफल नहुनु, हाम्रा मुस्लिम समुदायका प्रतिनिधिहरू सदनमा जोजो हुनुहुन्छ, उहाँहरूले समेत यो विषयमा आवाज नउठाउनु यो समुदायको लागि धोका हो ।’ ‘समय र ठाउँमा नबोल्दा त्यो समुदायको माग ओझेलमा पर्दछ’, उनले भनेका छन् ।

अध्यक्ष अन्सारीले मुस्लिम आयोगको अधिकारका विषयमा मुस्लिम समुदायमा बुझाइ फरक रहेको बताए । उनले आयोगले नीतिगत काम गर्ने गरेको भन्दै क्रमशः आयोगले गरेका कामको परिणाम देखिन थालेको बताए ।

उनले कब्रिस्तानको जग्गाहरू विभिन्न ठाउँमा मिच्ने कार्य भएको भन्दै चिन्ता जनाएका छन् । उनले हलालको प्रमाण पत्र दिने विषयमा कार्यदल बनेको र त्यो कार्यदलको सुझावपछि हलालको प्रमाणपत्र दिइने बताएका छन् ।

Published : Tuesday, 2024 May 21, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया