टीकापुरको जमीन ०५३ सालमा ५० हजारमा किनेको हुँ : डा.आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् सांसद डा.आरजु राणा देउवाले टीकापुर जमीनको आफूले २०५३ सालमा किनेको बताएकी छिन् ।

मंगलबार संसद भवन नयाँ बानेश्रमा पत्रकारहरूसँग कुरा गर्दै नेतृ डा.राणाले आफूले किनेको जमीनका विषयमा सूचनाको हक प्रयोग गरेर सबै कागजात हेर्न पनि अनुरोध गरेकी छिन् । उनले टीकापुर जमीनको घोटाला ०६८ सालतिर भएको बताइन् ।

उनले भनिन्, ‘टीकापुरको जमीन आफै गएर हेर्न जानुस् । ५० हजारमा किनेको हो । सबै त्यसको रिपोर्ट पनि गरिकेको छ ।’

‘मैले किनेको ०५३ सालमा हो । त्यो घोटाला भएको ०६८ साल वा कति पछि हो’, डा.राणाले भनिन्, ‘त्यो कुराहरू पनि तपाईहरूले गएर हेर्नुस् ।’

उनले भनिन्, ‘इन्भेष्टिगेट जर्नालिजम गरिरहनुभएको छ । प्लिज गएर हेरिदिनुस् भन्छु । कार्यालयमा गएर हेर्नुस् । किन भने राइटु इन्फर्मेसन छ । सबै ती कागजात खोलेर हेर्नु होला । प्लिज ।’

सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभाको बैठकमा लगाएको लाञ्छना र आरोपहरूका बारेमा डा.राणाले त्यसबारे आफूलाई भन्नु केही नरहेको बताइन् । उनले मनगढन्ते कुरा नबोल्न आग्रह गरेकी छिन् ।

कांग्रेस नेतृ डा.राणाले भनिन्, ‘मेरो भन्नु के छ भने उनीहरूले जे जे छ सबै खोलेर देखाइदिनु । उनीहरू छन् पावरमा । जाहाँ जाहाँ छ जे जे छ अब मनगढन्ते कुरा जसको पनि भन्न पाइन्छ ।’

Published : Tuesday, 2024 May 21, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया