राष्ट्रिय सूचना बेच्ने एजेन्टहरू को हो ? त्यसो नभए गृहमन्त्री तपाईंलाई गलहत्याउनेछौं : कांग्रेस

काठमाडौं । सहकारीको करोडौं रुपियाँ अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेले आफूहरूमाथि लगाएको आरोप पुष्टि गर्न नेपाली कांग्रेसले चुनौती दिएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेलाई कांग्रेस सभापति र उपसभापतिमाथि छानबिन गर्न चुनौती दिए । उनले छानविन गरेर हदैसम्मको कारबाही गर्न आग्रह गरे । सांसद पाण्डेले कांग्रेस नेताहरूमाथि निराधार आरोप लगाएको बताएका छन् ।

‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि लाञ्छना लगाउनु भएको छ’, पाण्डेले भने, ‘उपसभापति र महामन्त्रीको नाम किटेर छानबिनको समय पनि तोक्नुहोस् । उहाँहरू दोषी देखिनुभयो भने । कारबाही गर्नुहोस् ।’

संसदमा गृहमन्त्री लामिछानेले भनेका थिए, ‘के हामीले यस्ता विषयमा पनि छानबिन गर्नुपर्ने हो ? आज ममाथि छानबिन हुने हो भने यी विषयमा पनि छानबिन किन नहुने ?’ यही विषयमा छानबिन गरेर प्रमाणित गर्न कांग्रेस सांसद पाण्डेले गृहमन्त्री लामिछानेलाई चुनौती दिएका हुन् ।

सांसद पाण्डेले राष्ट्रिय सूचना बेच्नेहरू सदनमै रहेको कुरा पुष्टि गर्न पनि पनि गृहमन्त्री लामिछानेलाई चुनौती दिए ।

‘राष्ट्रिय सूचना बेच्ने एजेन्टहरू यही सदनमा छन् भन्ने आरोप लगाउनुभयो । को हो छ त्यो ? उहाँलाई गलहत्याउन हामी साथ दिन्छौँ । यदि त्यसो नभए तपाईंलाई गलहत्याउनेछौं’, उनले भने ।

कांग्रेसले गृहमन्त्रीले संसद्मा लगाएको आरोप रेकर्डबाट हटाउनसमेत आग्रह गरेको छ । सहकारी पीडितहरूको बचत फिर्ताका लागि संसदीय छानबिन समितिको क्षेत्राधिकारबारे कांग्रेसको अडान कायमै रहेको समेत पाण्डेले बताए ।

सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नता सीबीआईलगायतका प्रतिवेदनले प्रमाणित भएको समेत पाण्डेले बताएको छ ।

गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभामा त्रिचन्द्र कलेजको पार्क निर्माण, त्रिविको वेबसाइट डिजाइन, बाख्रा पालन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति, रातो पासपोर्ट, वाइडबडी जहाज, नक्कली भुटानी शरणार्थी, टीकापुरको जग्गा, देशका संवेदनशील सूचना विदेशीलाई बेचेको प्रसंग उठाएका थिए ।

Published : Tuesday, 2024 May 21, 1:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया