गृहमन्त्रीको निरन्तर समाचार छापेको कान्तिपुरका अध्यक्षलाई पूर्वाग्रही भएर कारबाही नगर्न कांग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा आकिस्मक समयमा बोल्दै कांग्रेसका सांसद तथा सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सिरोहियालाई पूर्वाग्रही भएर कुनै पनि कारबाही भयो भने त्यो कार्य नेपाली कांग्रेसलाई सैह्य नहुने बताए ।

उनले भने, ‘भरखर सुनिएको समाचारअनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानूनी दायरमा हरेक नागरिकलाई ल्याउनुपर्छ ।’

‘आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन । राजालाई सहेन’, उनले भने, ‘कसैलाई पनि सहँदैन । त्यो पनि दोहो¥याउन चाहन्छु ।’

गृहमन्त्री रवि लामिछानेविरुद्ध कान्तिपुर मिडिया ग्रुपले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ । कान्तिपुरसँग रिसाएका लामिछानेको आदेशमा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न लागेको आरोप छ ।

सिरोहियालाई नागरिकताको विषयमा आरोप लगाएर पक्राउ गरेर कारबाही गर्न लागेको बताइएको छ ।

यसअघि, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मंगलबार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले नागरिकता प्रकरणमा सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिएका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो । सिरोहियाविरुद्ध सर्लाही निवासी इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए ।

सिरोहियाले त्यसबेला नै उक्त उजुरीको खण्डन गरेर आवश्यक भए अनुसन्धान गर्न चुनौती दिएका थिए । उजुरीबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो। उक्त अनुसन्धान अघि बढेसँगै प्रहरीले सिरोहियालाई पक्राउका लागि जिल्ला अदालतबाट मंगलबार अनुमति लिएको हो ।

Published : Tuesday, 2024 May 21, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया