लामिछानेले नै ढालेका हुन् जीवी राईको साम्राज्य, आत्मसमर्पण गरेर सत्य कुरा बोल्न सुझाव

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको अभियोग लागेका गितेन्द्रबाबु राई (जीवी)ले आफूलाई आत्मसमर्पण गराएर सबै कुराको सत्य तथ्य सार्वजनिक गर्नुपर्छ ।

राई फरार रहँदा गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आफूलाई निर्दोष रहेको दाबी गरेर सबै दोष राईलाई लगाउँदै आएका छन् । लामिछानेले राईको दोषको भागिदार म किन बनु भनेर प्रतिनिधिसभाको बैठकमा समेत बोलिसकेका छन् ।

लामिछानेले राईलाई कुनै पनि हालतमा बचाउने छैनन् । राई आफैले आफूलाई बचाउनुपर्छ । राई तत्कालका लागि विदेशमा बसेर सुरक्षित रहे पनि कुनै पनि दिन पक्राउ पर्न सक्छन् । बरु त्योभन्दा अगाडि नै राईले आफूलाई आत्मसमर्पण गराएर लामिछानेका बारेमा पनि राज्यको नियामक निकायमा सत्यतथ्यको जानकारी गराउनुपर्छ । त्यसमा नै राईको जित हुनेछ । होइन भने लामिछानेले राईलाई फसाएर आफू चोखिने प्रयास गर्नेछन् ।

राईले नै लामिछानेलाई ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्धक निर्देशक बनाएर गुन लगाएका हुन् । राईले लामिछानेलाई टेलिभिजनको मालिक बनाए । मालिकसहितको रोजगारी दिएवापतको अभिषाप राईलाई लागेको छ । लामिछानेसँगको संगतले राईले देश छाडेर भाग्नु परेको छ । अर्बौंको सम्पत्ति अलपत्र परेको छ ।

हुन त लामिछानेसँग जसले संगत गरेको छ त्यसको सत्यानास भएका धेरै उदाहरण छन् । लामिछानेसँग कुनै मानिस धेरै लामो समय टिक्न सक्दैनन् ।

सहकारीको रकम अपचलन र ठगी प्रकरणमा राईको जति संलग्नता छ त्यति नै लामिछानेको पनि संलग्नता छ । राई शक्तिमा छैन । त्यही कारण फरार हुनु परेको छ । लामिछाने राजनीतिक शक्तिको आडमा छन् । दोषभरि सबै राईलाई लगाएर आफू निस्कलंक बन्न खोजेका छन् ।

तत्कालीन समयमा राम्रो कमाइ र आम्दानी गर्दै आएका राईलाई मुर्गा बनाएर लामिछानेले सहकारी काण्डमा फसाएको सहकारीकै एक सदस्यले बताएका छन् । नाम उल्लेख नगर्ने सर्तमा ती सदस्यले भने, ‘जीबी राईले आफ्नो पेशा व्यवसाय गर्दै आउनुभएको थियो । न्यूज २४ टेलिभिजनमा आधा घण्टाको समय किनेर कार्यक्रम चलाउँदै आएका रवि लामिछानेसँगको संगतले जीवी राईलाई ठूलो क्षति भयो । जीवनभरि कमाइ गरेको इज्जत, प्रतिष्ठा, सम्पत्ति, घरपरिवार सबै ध्वस्त भयो । यसको पाप रवि लामिछानेलाई लाग्नेछ ।’

ती सदस्यले भने, ‘रवि लामिछानेले नै सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याएर ग्यालेक्सी फोरके टेलिभिजन चलाउने प्रस्ताव ल्याएका थिए । त्यसपछि जीवी राई र रवि लामिछानको समूह मिलेर सहकारीको रकम गोर्खा मिडियामा ल्याउन शुरु भएको थियो । यो अवस्था आउँछ भनेर हामीले पहिला सोँचेका थिएनौँ ।’

ग्यालेक्सी फोरके टेलिभिजनमा राम्रो भइरहेका बेला लामिछानेले टेलिभिजन छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरे । निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २० सिट र पछि उपनिर्वाचनबाट १ सिट गरी २१ सिट हुन पुग्यो । त्यसपछि लामिछानेको भाग्य खुल्यो । तर, राईको दिन डुब्न थाल्यो । लामिछाने उपप्रधानमन्त्री र गृहमन्त्री बने ।

गृहमन्त्री बनेपछि लामिछानेले राईलाई गर्नुपर्ने सहयोग गरेनन् । गोर्खा मिडियामा सहकारीबाट ल्याएको रकम तिर्नेतिर ध्यान नै दिएनन् । राई र लामिछाने मिलेर अपचलन तथा ठगी गरेको त्यति ठूलो रकम राई एक्लैले तिर्ने वा मिलाउने सम्भावना छैन ।

लामिछाने दायित्वबाट भागेपछि राईलाई तनाब भएको छ । बाध्य भएर राई भाग्नु परेको छ । राईलाई पनि भाग्नुपर्छ भनेर उल्का लगाउने लामिछाने नै हुन् भनेर धेरै आक्षेप लगाइरहेका छन् ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले रलामिछानेसँग सति जानेभन्दा पनि उनीविना पनि जनताको आशा कसरी पूरा गर्ने र भरोसा कसरी जित्ने भन्नेतर्फ सोँच्नु आवश्यक छ भनेर प्रतिक्रिया आउन लागेका छन् ।

कुनैन कुनै दिन लामिछाने कानूनी दायरामा आउने नै छ । जसरी चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी, मोहम्मद अफताव अलाम, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझीहरू कानूनी दायरामा आए ।

Published : Tuesday, 2024 May 21, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया