मेरियट होटलमा सभापति देउवाले लात हानेपछि गृहमन्त्री लामिछाने बरबराउन थाले

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरेको रहस्य बाहिर आएको छ ।

काठमाडौंको नक्साल, नागपोखरीस्थित होटल मेरियटमा शनिबार राति गोप्य रुपमा सभापति देउवासँग गृहमन्त्री लामिछानेले भेट गरेर डेमोक्रेटिक अलाइन्स बनाउन प्रस्ताव गरेका छन् ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाद्वारा आइतबार नयाँ बानेश्वरमा गरिएको आकस्मिक पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेको पार्टीका नेताहरू अर्थात् कांग्रेसका पूर्व नेताहरूले डेमोक्रेटिक अलाइन्स बनाउन भनेर प्रस्ताव लिएर आएको बताएका थिए ।

रास्वपा उपसभापति एवम् सांसद स्वर्णिम वाग्ले निकटका श्रीराम न्यौपानेले कांग्रेसका केही नेताहरूसँग भेट गरेका थिए ।

शनिबार साँझ त रास्वपा सभापति लामिछाने स्वयंले देउवालाई भेट गरेर सहकारी ठगी प्रकरणमा अडान नलिन अनुरोध गरेका थिए । सभापति देउवाले गृहमन्त्री लामिछानेको आग्रहको जवाफ दिँदै कांग्रेस धेरै अगाडि बढिसकेका कारण पछाडि फर्किने अवस्था नरहेको बताएपछि निरास भएर लामिछाने बाहिरिएका थिए ।

रास्वपा नेताहरूले आफूहरूलाई एमालेसँगै बस्न बाध्य पार्ने गरी धेरै पर नधकेल्न कांग्रेस नेताहरूलाई आग्रह गरेको एक नेताले बताएका छन् ।

सभापति देउवासँग गृहमन्त्री लामिछानेले कांग्रेससँगै रहने वातावरण बनाउन र संसदीय छानबिन समिति बनाउँदा त्यसको कार्यादेश (टीओआर) खुकुलो बनाउन आग्रह गरेका थिए ।

सहकारी प्रकरणमा आफूमाथि छानबिन हुने डर बढेसँगै लामिछानेले त्यसको कार्यादेश बनाउँदा खुकुलो बनाउन आग्रह गरेका हुन् । खुकुलो भन्नाले उनले कुनै पनि व्यक्तिलाई तोकेर नभइ समग्रमा सबै सहकारीको छानबिन गर्ने भनेर समिति बनाउन आग्रह गरेका थिए ।

सभापति देउवाले भने यो विषय लाखौँ नेपाली जोडिएको विषय भएकाले यसमा जनताको मूल समस्याबाट कांग्रेस पछाडि हट्न नसक्ने बताएका थिए ।

देउवाको यो जवाफले लामिछाने निराश भएका थिए । कांग्रेसका नेताहरूसँग आफ्ना दूतहरू निरन्तर रुपमा पठाएर सम्पर्क स्थापित गर्दै आएका लामिछानेले संसदीय छानबिन समिति बन्ने नै भएपछि अताल्लिएर डेमोक्रेटिक अलायन्सका नाममा सभापति देउवालाई फकाउने प्रयास गरेका थिए ।

सभापति देउवाको शरणमा पुगेर कुरा नमिलेपछि गृहमन्त्री लामिछाने सिधै बालकोट पुगेर ओलीको खुट्टा ढोगेको चर्चा छ । लामिछानेले ओलीलाई देउवासँगको कुराकानीको रिपोर्टिङ गरेका थिए ।

हरेक साँठगाँठ कम्युनिष्टहरूसँग गर्ने लामिछाने डेमोक्रेटिक अलायन्सका हुन् भनेर भन्ने आधार पनि केही छैन । रास्वपाको कुनै पृष्ठभूमि नै छैन । ओली र प्रचण्डलाई गाली गर्ने लामिछाने आजका दिनमा उनीहरूलाई नै राजनीतिका आदर्श मानेर बसिरहेका छन् ।

यसअघि नागरिकता र राहदानीको विवादको विषय आउँदा लामिछानेले यसैगरी नेताहरूलाई भेटेर कुरा मिलाएका थिए । यसपटक लामिछानेलाई नराम्रो धक्का लागेको छ ।

संसदीय छानबिन समिति नै बन्न नपाउँदै लामिछानेले कांग्रेससँगको सम्बन्ध सुमधुर हुने सम्भावना नदेखेपछि संसदमा गृहमन्त्रीको गरिमासमेत बिर्सेर कांग्रेस नेताहरूमाथि बिष वमन गरेका छन् । लामिछानेले बर्बराउँदै कांग्रेसका नेताहरूलाई गाली गरेका छन् । नभएका आरोप लगाएका छन् । अदालतको अवहेलना गर्ने गरी नै लान्छना लगाएका छन् ।

लामिछाने र ओलीबीच सहकारी प्रकरणमा आफूले साथ दिने र कथंकदाचित गिरिबन्धु टि इस्टेट प्रकरणले गम्भीर रुप लियो भने आफूलाई सघाउनु पर्ने भद्र सहमतिसहित अगाडि बढेको एक नेताले बताएका छन् ।

सहकारी र गिरिबन्धु टि इस्टेट काण्डमा एमाले र रास्वपाबीच मिलेर जाने सहमति भएको कांग्रेसका महामन्त्री थापाले नै बताएका छन् । ओलीले पनि संसदमा कांग्रेस सांसदहरूमाथि अभद्र व्यवहार गरेका थिए ।

थापाले लामिछाने सहमति जुटाउन कांग्रेस नेताहरूसँग भेटिरहेको र दूतहरूसमेत पठाइरहेको भन्ने संकेत गरेका छन् । सोमबार कांग्रेस नेताहरूसँगको जमघटमा देउवाले लामिछाने र आफूबीच भेटघाट भएको कुरा खोलेका थिए ।

यसअघि लामिछानेले नयाँ गठबन्धन बन्दै गर्दा कांग्रेस सभापति देउवाले आफूलाई प्रधानमन्त्रीको अफर गरेको भन्दै हल्ला फैलाएका थिए । लामिछानेको त्यो हल्लामा कुनै सत्यता नै छैन । किन भने कांग्रेसको कुन नेता वा व्यक्तिले प्रधानमन्त्रीको प्रस्ताव गरेको हो त्यो आधिकारिक हुँदैन । कांग्रेस जस्तो पार्टीले लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने हो भने लिखित वा संस्थागत निर्णय गरेर गर्छ ।

Published : Tuesday, 2024 May 21, 12:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया