चीनद्वारा बेलायत र जर्मनीमा जासुसहरू परिचालन

लण्डन । बेलायतमा २ जनालाई चीनका लागि जासुसी गरेको अभियोग लगाइएको छ ।

जर्मनीमा ३ जना संदिग्धलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । बेलायतको संसदमा एकजना अनुसन्धानकर्ता र अर्का एक व्यक्तिविरुद्ध चीनका लागि जासुसी गरेको आरोपमा मुद्दा दायर भएको छ ।

२९ वर्षीय क्रिस्टोफर क्यास र ३२ वर्षीय क्रिस्टोफर ब्यारीलाई अफिसियल सेक्रेट एक्ट अन्तर्गत मुद्दा दायर गरिएको छ ।

बेलायतको चरमपन्थी विरोधी प्रहरीले यी आरोपहरू निकै गम्भीर प्रकृतिका रहेको बताएको छ ।

दुवै अभियुक्त गत मार्चमा अनुसन्धानका क्रममा पक्राउ परेका थिए । क्रिस्टोफर क्यास संसदमा अनुसन्धानकर्ता थिए । उनीसँग धेरै कन्जरभेटिभ सांसदहरूसँग सम्बन्धित गोप्य सूचनाहरू थिए ।

जर्मन प्रहरीले पनि चीनका लागि जासुसी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । मुख्य सन्दिग्ध थोमस आरलाई चीनको आन्तरिक सुरक्षा मन्त्रालयमा काम गरेको आरोप छ ।

थोमसले एक फ्रन्ट कम्पनी चलाउँदै थिए । थोमसले जर्मन अनुसन्धान संस्थाहरूसँग नजिकबाट काम गरिरहेको थियो । उनले संवेदनशील सूचना सङ्कलन गरेको आरोप छ ।

यसमा युद्ध जहाजमा प्रयोग गर्न सकिने इन्जिनको डिजाइन पनि समावेश छ ।

थोमसले यो जानकारी चीनलाई उपलब्ध गराएको आरोप लगाइएको छ । जर्मन अभियोजकहरूले थोमस र उनका सहयोगीहरूले सेनाले प्रयोग गर्न सक्ने जानकारी सङ्कलन गरेको आरोप लगाएका छन् ।

चीनले युरोपका देशहरूविरुद्ध यसरी गुप्तचरहरू परिचालन गरेको समाचार बाहिरिएपछि युरोपियन युनियनले चिन्ता जनाएको छ ।

Published : Tuesday, 2024 April 23, 9:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया