एमाले बचाउने काठमाडौंका एसएसपी, ‘बा’ र रवि लामिछानेको तस्कारसँग कनेक्सन भइरहेको छ : गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेकपा (एमाले)का नेताविरुद्ध जाहेरी दिँदा प्रहरी प्रशासनले महिला दिदीबहिनीहरूलाई दर्ता नगरेर अन्याय गरेको बताएका छन् ।

सोमबार लहानमा नेपाल तरुण दल सिरहाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले गृहमन्त्री रवि लामिछानेले सुशासनका ठूला ठूला कुरा गरे पनि एमालेका युवा नेताविरुद्ध जाहेरी लिएर जाँदा जाहेरी नै दर्ता गर्न नदिएको बताए ।

उनले भने, ‘एमालेका नेताहरूको विरुद्धमा महिला दिदीबहिनीहरूले विभिन्न ठाउँमा उजुरी लिएर गएका छन् । विभिन्न महिला दिदीबहिनीहरूले भन्दै छन्, हाम्रो शिशुको हत्या भयो, हामीलाई अपहरणको प्रयास भयो, हाम्रा विभिन्न सम्पत्तिहरू लुटियो । एमालेका यी युवा नेताको विरुद्धमा हाम्रो जाहेरी लिने कि नलिने ?’

एमालेका नेता महेश बस्नेतविरुद्ध एकजना पीडित महिलाले जिल्ला प्रहरी परिसर काठमाडौंमा जबरजस्ती करणी, लुटपाट, अपहरण जस्ता अभियोगसहितको जाहेरी दिएकी थिइन् । तर, काठमाडौं प्रहरीका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले महिलाको जाहेरीलाई तामेलीमा राखेर एमालेका नेता बस्नेतलाई उन्मुक्ति दिएका छन् ।

उनले प्रश्न गर्दै भने, ‘आज ठूला ठूला आदर्शका कुरा गर्ने, रवि लामिछानेज्यू तपाईले मन्त्री बन्दै गर्दा यो देशका महिला दिदीबहिनीहरूले न्याय पाउने कि नपाउने ?’

‘अघिल्लो सरकारको पालामा गठन गरेका ती सुन काण्डमा परेका अपराधीहरूलाई दयामा भटाभट छोड्दै गर्दा आज हामीलाई लाग्न थाल्यो हिजो यो पार्टी तयार गर्दैगर्दा नेपालका तस्करहरूसँग मिलेर यो पार्टी बनेको रहेछ’, उनले भने ।

‘जति तस्करहरूको नाम बाहिर आउँछ । ती साराको स्वरहरू कहिँन कहिँ रवि लामिछानेसँग कनेक्सन भइरहेको छ’, गुरुङले भने ।

‘यी सारा कनेक्सनका पछाडि एउटा ‘बा’ हुन्छ जसको आशीर्वादले आज नेपालका तस्करहरू, नेपालका लुटेराहरू, नेपालका गुण्डाहरूको संरक्षण एउटै मात्रै ‘बा’ले गरेको छ’, उनले भने ।

‘त्यो हो नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओली’, तरुण दलका अध्यक्ष गुरुङले भने ।

‘यसपालिकाको आन्दोलन अख्तियारको प्रमुखको विरुद्ध पनि हुनेछ । नेपाल कम्युनिस्ट पार्टी र मधेशमा केही त्यस्ता नयाँ पार्टीहरू जसले दश वर्षभित्र २२/२५ पटकसम्म मन्त्री भएर तिनले गरेका कालोकर्तुतको विषयमा पनि यसपालि नेपाल तरुण दलले भण्डाफोर अभियान चलाउने छौँ’, उनले भने ।

अध्यक्ष गुरुङले भने, ‘नेपाली कांग्रेसमाथि चौतर्फी प्रहार भएको छ । देशका वामपन्थीहरूको एकताले, नयाँ पार्टीहरू, मधेशका क्षेत्रीय पार्टी, अख्तियार, सम्पत्ति शुद्धीकरण, विदेश, वुद्धिजीवी, नयाँ विचारहरू यी सारा शक्तिहरूले कांग्रेसमाथि आक्रमण गरिरहेका छन् ।’

‘नयाँ पार्टीहरू आएका छन् । यी पार्टीहरू कहिँन कहिँबाट सञ्चालित भएर आएका छन् । यी जसरी आएको छ, पहिलो त नेपाली कांग्रेसको विरुद्धमा आएको छ । यो व्यवस्थाको विरुद्धमा आएको छ’, उनले भने, ‘यो हामीले बारम्बार भनेका छौँ ।’

Published : Monday, 2024 April 22, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया