तरुण दलद्वारा सहकारी गठी काण्डमा मुछिएका गृहमन्त्री लामिछानेविरुद्ध आन्दोलनको घोषणा

लहान । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सहकारी ठगी काण्डमा मुछिएका रवि लामिछानेविरुद्ध सडक आन्दोलन गर्ने घोषणा गरेका छन् ।

सोमबार नेपाल तरुण दल सिहारले लहानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले वैशाख १५ गतेदेखि सहकारी ठगी काण्डमा मुछिएका लामिछानेविरुद्ध प्रदर्शन गरिने बताए । उनले तरुण दलको प्रदर्शन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध पनि हुने बताए ।

अध्यक्ष गुरुङले भने, ‘जीबी राई ठग होइन । जीबी राईलाई म ठग भन्नै चाहँदैन । जीबी राई कसरी ठग हुन सक्छ ? यदि नेपाल सरकारमा बस्ने प्रधानमन्त्रीज्यू, स्वयम् गृहमन्त्रीज्यू र यो सरकारलाई चलाउने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी ओलीज्यू जब उहाँहरू रवि लामिछानेलाई जसरी निर्दोष भन्नु हुन्छ त्यही प्रक्रियाबाट जीबी राईलाई पनि म निर्दोष भन्न चाहन्छु ।’

‘किन भने एउटा कम्पनी थियो । त्यो कम्पनीमा ३५ प्रतिशत शेयर जीबी राईको थियो । जीबी राईको जस्तै ३५ प्रतिशत शेयर रवि लामिछानेको १५ प्रतिशत थियो । विभिन्न शेयरको ग्रुप लिएर उहाँले एउटा कम्पनी खोल्नुभयो । कम्पनीले नेपालका तमाम सहकारीबाट, कोही ठाउँबाट ५० करोड, कोही ठाउँमा ३५ करोड, कोही ठाउँमा ६० करोड र धेरै सहकारीहरूमा हेर्ने हो भने जुन प्रक्रियामा जीबी राईले जसरी ऋण लिनुभएको थियो त्यही प्रक्रियाबाट रवि लामिछानेले त्यही प्रक्रियाबाट ऋण लिनुभयो’, उनले भने ।

‘आज जीबी राई दोषी हुँदै गर्दा रवि लामिछाने कसरी निर्दोष हुन सक्छ ? यो प्रश्न अहिलेको गृहमन्त्रीज्यूलाई छ । गृहमन्त्रीज्यू गृहमन्त्री पद भनेको अत्यन्तै महत्वपूर्ण मन्त्रालय हो । देशको सुशासन, शान्ति विभिन्न कुराहरू रहेका छन् । तपाईले त्यो अवसर पाउनुभएको छ । तपाईलाई म भन्न चाहन्छु । तपाईमाथि धेरै प्रश्न उठेको छ’, उनले भने ।

‘अब नेपाल तरुण दल यही वैशाख १५ गतेपछि यी विभिन्न मुद्दा लिएर अब हामी सडकमा जाँदै छौँ । देशव्यापरी रुपमा हामी जाँदै छौँ’, अध्यक्ष गुरुङले भने, ‘तरुण दल जब घोषणा गर्छ तरुण दललाई कसैले रोक्न सक्दैन ।’

अध्यक्ष गुरुङले भने, ‘नेपाल तरण दल, हामीले सोँचेका थियौँ हिजो नेपाली पुराना पार्टीहरूलाई, पुराना पार्टीका नेताहरूलाई आदर्शको कुरा सिकाउने अहिलेका वर्तमान गृहमन्त्रीज्यू, नेपाली कांग्रेसले हाउसमा सहकारीको कुरा उठाउँदै गर्दा संसदीय छानविन समितिमा उहाँले खुलेर स्वागत गर्नु हुन्छ भन्ने हामीलाई लागेको थियो । तर, उहाँले आज गर्नुभएन ।’

‘देशव्यापी रुपमा, नेपाल सरकारले नेपालका मिडियाहरूले यो देशका जनताले यो देशका वुद्धिजीवीहरूले र सिआइबीले जीबी राई भन्ने मान्छे यो मुलुकको सबैभन्दा अर्बौं रकम खाने ठग हो भनेर आज देशभरि चर्चाको विषय छ’, उनले भने ।

नेपाली कांग्रेसले सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानविन समितिको माग गरेर संसद अबरुद्ध गरिरहेका बेला तरुण दलले पनि सडक आन्दोलन घोषणा गरेको छ ।

Published : Monday, 2024 April 22, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया