सहकारीपीडितद्वारा पोखरामा प्रदर्शन, रवि दाइ र जीबी राईको खोजी

पोखरा । सहकारीपीडितहरूले आफ्नो निक्षेपको रकम फिर्ताको माग गरेर पोखरामा प्रदर्शन गरेका छन् । सोमबार पीडितहरूले रकम फिर्ता माग गरेर प्रदर्शन गरेका हुन् ।

सूर्यदर्शन, इमेज, शिवशिखर, बलिदानी, मित्रमिलन र विन्दवासिनी सहकारीका पीडित वचतकर्ताले संयुक्त संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकामा ज्ञापन पत्र पनि बुझाएका छन् ।

सहकारी पीडितले ‘सहकारी ठग विदेशमा चिल्ला गाडीमा सरर, हामी पीडित यहाँ भोक, रोग र प्यासले हरर !’, ‘सहकारी पीडितलाई अझै कति दिन तड्पाउँछस् सरकार ?’ ‘जीबी राई, देवकुमार नेपालीलाई पक्राउ गर’, ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छ’, जस्ता नारा लगाउँदै पीडित सडकमा निस्किएका छन् ।

पोखराका ६ वटा सहकारीबाट मात्र ३ अर्ब रुपियाँ अपचलन भएको प्रहरीले यसघि जनाइसकेको छ ।

प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख दलका शीर्ष नेतालाई आफूहरूको समस्या जानकारी गराउँदा बेवास्ता गरेकाले सामूहिक रुपमा आन्दोलन सुरु गरेको कास्की सहकारी वचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए ।

पोखराको सूर्यदर्शन सहकारी पीडितले दुई हप्ताअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर वचत फिर्ताको पहल गरिदिन माग गरेका थिए ।

विगतमा जीबी राई नेतृत्वको सहकारीबाट हालका गृहमन्त्री लामिछाने पनि शेयर सदस्य भएको टेलिभिजनमा गैरकानूनी रुपमा रकम लगिएको देखिएकाले जीबी राईलाई गृहमन्त्रीको संरक्षण हुने त होइन भन्ने चिन्ता पीडितहरूको छ ।

गृहमन्त्री लामिछानेले जीबी राईलाई मलेसिया सरकारसँग समन्वय गरेर नेपाल ल्याउने आश्वासन दिए पनि आफूहरू विश्वस्त हुन नसकेको पीडितहरूले बताएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीले मात्र १८ हजार ७०० जनाको १ अर्ब ३५ करोड रुपियाँ बचत अपचलन गरेको अनुसन्धान प्रतिवेदन छ ।

१ अर्ब ११ करोड रुपियाँ बिगो माग दाबी गर्दै सञ्चालक र उच्च पदस्थ कर्मचारीविरुद्ध अदालतमा मुद्धा दायर भएको छ ।

इमेज सहकारी नाममा बागलुङमा ३ शाखा र पोखरामा बेग्लै सहकारी चलाएका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाटमात्र पोखरामा ८ हजार ३ सय पीडित छन् । उनी पनि गत सालको जेठ ५ गतेदेखि फरार छन् ।

पोखराको इमेजबाट ६४ करोड ८८ लाख रुपियाँ अपचलन भएको छ । बागलुङमासमेत गरी सवा २ अर्ब त इमेज सहकारीबाट मात्र अपचलन भएको तथ्यांक छ ।

पोखराकै शिवशिखर सहकारीका पनि ७ हजार १७० जना पीडित छन् । शिवशिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई प्रक्राउ गरे पनि बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । पोखराको शिवशिखरबाट ५४ करोड २३ लाख ८ हजार अपचलन भएको प्रहरीको तथ्यांक छ ।

बलिदानी सहकारीबाट ६ हजार ३४५ जनाको १० करोड ६९ लाख अपचलन भएको पाइएको छ । मित्रमिलन सहकारीबाट ३ हजार ४४६ जनाको ३१ करोड ७८ लाख २२ हजार रुपैयाँ बचत अपचलन भएको प्रहरीको अनुसन्धानले देखाएको छ । विन्दवासिनी सहकारीबाट करिब १० करोड हिनामिना भएको आरोप छ ।

Published : Monday, 2024 April 22, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया