गठबन्धन अपराधी, भ्रष्टाचारी, आर्थिक अनियमितता गरेकोलाई संरक्षण दिने ठाउँ बन्यो : नेता कँडेल

काठमाडौं । नेपाली कांग्रेसको सहकारी विभागका प्रमुख समेत रहेका नेता देवेन्द्रराज कँडेलले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपलचन गर्ने मुख्य दोषीलाई प्रतिवादी नबनाएर पैसा संकलन गर्न जाने सहायकस्तरका कर्मचारीलाई प्रतिवादी बनाइएको बताएका छन् ।

शनिबार काठमाडौंमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाद्वारा सहकारीको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा सुझाव लिन राखेको कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले सहकारीको रकम अपलचन गर्नेहरूलाई राज्यले संरक्षण गरेर राखेको बताए ।

उनले सहकारीको रकम अपचलन गर्न परिवारभित्र डिभोर्स गरेर सम्पत्ति लुकाउने कार्यहरू भइरहेको बताए ।

‘सहकारीका नाममा आफ्नै परिवारका सदस्यहरूलाई, त्यति मात्रै होइन, नियत खराब भएपछि घरभित्र नै डिभोर्स गर्ने, अहिले प्रचलन छ’, कँडेलले भने ।

‘भोलि कहिँ राज्यल समात्यो भने कमसेकम मेरो परिवारको नाममा भएको सम्पत्ति त्यो त उसले कब्जा गर्दैन’, उनले भने, ‘राज्यले लिँदैन भनेर, पहिले नै एउटा तयारीका साथ आफ्नै परिवारभित्र अलग गरेर मेरो कुनै सरोकार छैन म आफ्नो हिस्सा लिएर अलग भइसकेको भन्ने त्यो बिकृति पनि बढ्दै गएको छ ।’

नेता कँडेलले भने, ‘संकटग्रस्त सहकारी उनको त्यो परिवारमा डिभोर्स गर्ने परम्परा देखा परेको छ । त्यति मात्रै होइन सोझासाझालाई मात्रै दण्डित गर्ने कार्य भएको छ । के कानूनले विभेद गर्‍यो कि गरेन ? त्यो पनि हामी जिम्मेवार बनौँ ।’

कांग्रेस नेता कँडेलले भने, ‘वैशाख ४ गते बुटवलमा ठूलो जुलुस निस्कियो । त्यो र्‍याली र जुलुसले त्यहाँ रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठूलो रकम अपचलन भयो ।’

‘त्यो अपचलनमा राज्य नै, यो सरकार टिकाउनलाई सहभागी भएर अहिले जसरी गृहमन्त्री (रवि लामिछाने)को चर्चा आइरहेको छ । त्यो उपयुक्त छैन’, उनले भने ।

‘आफूलाई चोख्याउनलाई सरकारमा सहभागी हुनै पर्ने र यो सरकार टिकाउनलाई जस्तो व्यक्तित्व भए पनि उसलाई लिनै पर्ने । त्यो बाध्यता देखिएको छ’, कँडेलले भने ।

‘भनेपछि गठबन्धन के को लागि ? अपराधी, भ्रष्टाचारी, आर्थिक अनियमितता गरेकोलाई संरक्षण दिने ठाउँ जस्तो भइराखेको छ’, कँडेलले भने ।

‘यसलाई राज्यले रोक्ने कि नरोक्ने ? हाम्रा माननीयहरूले यसलाई कडा रुपमा हुने कि नहुने ?’, उनले भने ।

‘अहिले दुई करोडको जुन कुरा उठेको छ सुप्रिम सहकारीका पीडितले जसरी आवाज उठाए, उनीहरूको नाराहरू हामीले सुन्यौँ, सिधै एमाले र माओवादीका अहिले सरकारमा रहेका गृहमन्त्री (रवि लामिछाने)लाई आफ्नो सरकार टिकाउनलाई सहकारीको रकम जुन अपचलन भयो यसलाई बेवास्ता गरिएको छ’, उनले भने ।

‘हाम्रा प्रधानमन्त्रीले कोर्टले सजाय गर्ला या नगर्ला कोर्टभन्दा माथि भएर एक कदम अगाडि बोल्नुभएको छ’, उनले भने ।

‘अब एमालेको हालत पनि त्यही छ । हाम्रा पूर्वप्रधानमन्त्री केपी ओली पनि त्यस्तै छ । उहाँले पनि निर्दोष सावित गराइदिनुभएको छ’, नेता कँडेलले भने ।

‘जबकि बुटवल प्रहरीले बकाइदा छानविन गरेर आफ्नो प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा (रवि लामिछानेलाई) दोषी देखाइरहेको छ’, नेता कँडेलले भने ।

‘नियमित रुपमा नभइकन अनियमित तरिकाले दुई करोड रकम अपचलन गरिएको भनेर प्रहरीले प्रतिवेदन सरकारी वकिलकोमा गएर त्यो मुद्दा दर्ता गर्नलाई अगाडि बढाइयो, जसले अपचलन गर्‍यो त्यो (रवि लामिछाने) प्रतिवादी बनेन’, उनले भने ।

‘प्रतिवादी को बन्यो ? भने ज–जसले पसल पसलमा गएर पैसा उठाएर जम्मा गर्‍यो उनीहरू प्रतिवादी बने । जसले गर्‍यो उसलाई हामीले संरक्षण दिइरहेका छौँ’, उनले भने ।

कँडेलले भने, ‘सहकारीको ठूलो रकम जग्गामा लगानी भएको छ । ठूला मलमा लगानी भएको छ ।’

‘परिवारभित्रका सबै सेयर सदस्य बन्ने त्यसलाई कुनै किसिमको धरौटी, कोलेटर लिन नपर्ने, ठूलो रकम निकाले र लगानी गरे’, उनले भने, ‘पहिला पनि त्यो हुन्थ्यो । त्यो बेला आर्थिक तरलता थिएन । निकाल्थे, बचतकर्ताको पैसा किस्ताबन्दीमा दिइदिन्थे । त्यो कसैलाई थाहा थिएन ।’

उनले भने, ‘कोभिड आइसकेपछि आर्थिक तरलता भएपछि ठूला रकमहरू ठाउँ ठाउँमा ब्लक भइसकेपछि अनि बचतकर्ताहरू चेक लिएर आफ्नो पैसा झिक्न गए पैसा भएन । अनि बिस्तारै बिस्तारै कुरा बाहिर आयो । अहिले पनि धेरै यस्ता सहकारीहरू छन् जो बाहिर आएका छैनन् ।’

Published : Saturday, 2024 April 20, 3:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया